Erani Mahal
पाल्पा अस्पतालको भवन निर्माणका लागि आएको रकम तीन वर्षदेखि फिर्ता

तानसेन - पाल्पा अस्पतालको भवन निर्माणका लागि आएको रकम फिर्ता हुने गरेको छ । विगत तीन वर्षदेखि अस्पताल निर्माणका लागि आएको करोडौँ रकम फिर्ता भएकाे हो ।भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसक्दा रकम खर्च नभइ फिर्ता भएकाे हाे । आर्थिक वर्ष २०७८/०७९ देखि लगातार भवन निर्माणका लागि रकम विनियोजन हुने गरेको छ । तर तीन वर्षदेखि रकम फिर्ता भएकाे पाल्पा अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनकाे वेवास्ता र सम्वन्धित निकायकाे अलमलले अस्पताल बन्न सकेकाे छैन ।भवन निर्माण गर्न जग्गा व्यवस्थापन गर्न नसक्दा सङ्घीय सरकारबाट भवन निर्माणका लागि विनियोजन भएको रकम फिर्ता हुने गरेको पाल्पा अस्पताल प्रशासन शाखाका प्रमुख सुशिल ज्ञवालीले बताउनुभयो । अस्पतालको भवन बनाउन भन्दै तीन वर्षअघि मोहनकन्या माविको जग्गा र अस्पतालको जग्गा सट्टीपट्टी गर्ने गरी काम अगाडि बढेपनि सरकारले हालसम्म पनि निर्णय नगरेको उहाँले बताउनुभयो । एक सय वर्ष पुरानो जीर्ण भवनबाट सेवा दिनुपरेको बाध्यतालाई मध्यनजर गर्दै सरकारले तीन वर्षअघि भवन निर्माणका लागि पुनर्निर्माण प्राधिकरणबाट ६० करोड बढी रकम सुनिश्चित गरेको थियो । यद्यपी उक्त रकम खर्च नभई फर्किएको थियो ।

त्यसपछि लगातार सङ्घीय सरकारले भवन निर्माणका लागि वजेट विनियोजन गर्दै आएको छ । चालु आवमा पुनः १२ करोड बजेट विनियोजन गरेको अस्पतालकी सूचना अधिकारी प्रमिला पााठकले जानकारी दिनुभयो । उक्त रकम समेत यो वर्ष खर्च हुन सकेको छैन । अब भवन निर्माणको काम अगाडि नबढेपछि चालु आवको १२ करोड रकम फिर्ता हुने निश्चित रहेको अस्पतालले जनाएको छ ।सरकारले आगामी चालु आव २०८१/०८२ मा पुनः भवन निर्माण गर्न दुई करोड रकम विनियोजन गरेको छ । आगामी आवमा पनि भवन बन्ने अहिलेसम्म सुनिश्चित हुन सकेको छैन । हाल अस्पताल रहेको क्षेत्रवरपर जग्गा व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष रकम फिर्ता भएको हो ।

अस्पताल अन्यत्र सार्न पनि नदिने र अस्पताल क्षेत्रमा जग्गा मिलाउन पनि नसक्ने सराेकारवालाकाे कमजाेरी देखिएकाे स्थानीय सेवाग्राही बताउँछन् । हाल पाल्पा अस्पतालको आठ रोपनी मात्र जग्गा छ । त्यस स्थानमा समेत भवन बनाउन सकिने प्रावधान छैन ।लुम्विनी प्रदेश सरकारले चार वर्षअघि अस्पताललाई एक सय शैय्याको बनाउने निर्णय गरिसकेको छ । सोही अनुसार कर्मचारी व्यस्थापन भएपनि पुरानो भवनबाट सेवा दिन असहज भइरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट राजेन्द्रबहादुर जिसीले बताउनुभयो । भवन बनाउन नसक्दा चिकित्सकलाई बिरामी जाँच गर्ने कक्षसमेत व्यवस्थापन गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो । जग्गा व्यवस्थापनका लागि पहल भइरहेको भएपनि ठोस निर्णयमा पुग्न नसकेको अस्पतालका मेसु जिसीको भनाई छ । अस्पताल व्यवस्थापन समिति पटक-पटक परिवर्तन भइरहने, अस्पताल प्रमुख भवन निर्माण र सहजीकरणमा गम्भीर हुन नसक्दा पनि रकम फिर्ता भएकाे हाे । यतिमात्र हाेइन, पाल्पास्थित राजनैतिक दल तथा अन्य सराेकारवालाले पनि भवन निर्माणमा ठाेस पहल गर्न सकेका छैनन् ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update