Erani Mahal
नेपाल परिवार नियोजन संघको साधारणसभा सम्पन्न

पाल्पा – नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको २२ औं साधारण सभा तथा चक्रिय प्रणाली अन्तर्गत निर्वाचन तानसेनमा सम्पन्न भएको छ ।

 


चक्रिय प्रणाली अन्तर्गतको निर्वाचनबाट कार्य समितिमा सात जना सदस्य थपिएका छन् । महिला सदस्यमा सुनिता श्रेष्ठ, सुमिता श्रेष्ठ, आशा बस्याल, अपांगता भएकाबाट उर्मिला विक र ओमी बैदाली, विज्ञ सदस्यहरु पुष्करराज रेग्मीे, युवा सदस्यमा सिर्जना गैरे निर्विरोध चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले सपथ गराउनुभयो । यसअघि भएको साधारणसभामा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले स्वच्छ, पारदर्शी ढंगले काम गरेको आफूले पाएको बताउनुभयो । उहाँले महिलाको पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन दुर्गम गाउँमासमेत पुगेर शिविर राखेको साथै छिमेकी जिल्लामा पनि पुगेकाले यसको सेवाप्रति सबै विश्वस्त रहेको बताउनुभयो । उहाँले आगामी दिनमा सहयोगी संस्था खोजेर भए पनि सेवालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

 


कार्यक्रममा कार्यवाहक सभापति माधव प्रसाद अर्यालले शाखाबाट सन् २०२३ मा भएका वार्षिक कार्यक्रमहरु परिवार नियोजन साधन वितरण तथा परामर्श सेवा, सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला सेवाका कार्य भएको बताउनुभयो । स्वेच्छिक परामर्श तथा परीक्षण सेवा (निशुल्क एच.आई.भी. परीक्षण सेवा ) का साथै २४ सै घण्टा एम्बुलेन्स सेवालाई निरन्तरता प्रदान गरिएको उहाँले बताउनुभयो । नेपाल परिवार नियोजन संघले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि नयाँ अवधारणाको विकास तथा विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेका स्वास्थ्य सेवा र सूचनाको पैरवी गर्ने कार्यलाई सधै अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

 


तानसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सागर मान महर्जनले पाल्पाका साथै छिमेकी जिल्लाका महिलालाईसमेत सेवा दिएको बताउँदै सरकारको स्वास्थ्य सेवामा समपूरकको भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले पारदर्शी ढंगले काम गर्ने र सेवा प्रवाहमा चुस्तदुरुस्त रहने स्वास्थ्य संस्थाका रुपमा आफुलाई अब्बल बनाएको बताउनुभयो ।

 


सामाजिक समावेशिकरण, विविधता, उत्सुकता, स्वयमसेवी भावना र जवाफदेहीतालाई अंगिकार गरी कार्यक्रमहरु सञ्चालन गरेको उहाँले बताउनुभयो ।

 

शाखाका पूर्व सल्लाहकार चित्रवली राम सुवाल, आजीवन सदस्य बुद्धीप्रसाद शर्मा, तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मी, नेपाल पत्रकार महासंघ जिल्ला कोषाध्यष मुक्तिप्रसाद न्यौपानेले परिवार नियोजन संघको सेवामुलक भावनाका साथै महिलाका लागि गरेका कामले सबैलाई प्रेरित गरेको बताउनुभयो ।

 

कार्य समितिका विज्ञ सदस्य कमल बस्यालले कोषाध्यक्ष र शाखाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रम शाखाका कार्यवाहक सभापति माधव प्रसाद अर्यालको अध्यक्षता, शाखा कार्य समिति सदस्य सुर्यवबहादुर कार्कीको स्वागत र युवा सदस्य सिर्जना गैरेको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update