Erani Mahal
रामपुर नगरपालिकाको  बजेट  पारित गदै १५ औँ नगर सभा सम्पन्न

पाल्पा, रामपुर नगरपालिका नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठक बजेट संशोधन सहित पास गर्दै सम्पन्न भएको छ । असार ६ गते नगर सभाको पहिलो बैठकमा पेश भएको आर्थिक वर्ष २०८१÷०८२ को आर्थिक विनियोजन विद्येयक ऐन पारित गर्दै दोस्रो बैठक विहिबार सम्पन्न भएको हो ।


बैठकमा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आर्थिक विनियोजन विद्येयक ऐन संशोधन सहित नगर सभामा प्रस्तुत गर्नु भएको थियो । पहिलो बैठकमा प्रस्तुत भएको बजेट मध्ये प्रदेश सरकार बाट विशेष अनुदान २० लाख र प्रदेश सशर्तमा ६ लाख थप भए संगै नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ७४ करोड ११ लाख ४ हजार भएको छ । संशोधन सहितको बजेट प्रस्तुत गर्दै चालु तर्फ ५६ करोड ३२ लाख ४४ हजार र पूँजिगत तर्फ १७ करोड ७८ लाख ६० हजार गरी ७४ करोड ११ लाख ४ हजार विनियोजन गरिएको बताउनुभयो ।

 

 

जस मध्ये आर्थिक विकास तर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा १२ करोड ५ लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ६१ लाख ९९ हजार र काठर्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

 



नगरपालिकाले १० वटै वडालाई ४२ लाख बराबरको बजेट प्रदान गरेको छ । नगरपालिकाले आय तर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँड बाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालु तर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश विशेष अनुदान २० लाख, प्रदेश सशर्त १ करोड ६ लाख र आन्तरिक स्रोत बाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने लक्ष्य लिएको छ ।



बैठकमा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले रामपुर नगरपालिकाको नगरसभाको कार्यसञ्चालन कार्यविधि विद्ययेक २०८१ प्रस्तुत गर्नु भएको थियो । सो विद्येययक सर्व सम्मत रुपमा पारित भएको छ । सभाको विशेष समयमा बोल्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँण र शुन्य समयमा रामपुर नगरपालिका–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले आफ्नो भनाई राख्नु भएको थियो । नगर सभामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नगर सभाको अधिवेशनले ४ वटा ऐन पारित गरेको जानकारी दिनुभयो । उहाँले नगर सभा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


सभा समापनको अवसरमा शुभकामना मन्तव्य राख्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले सकारात्मक सन्देश सहित जनप्रतिनिधिहरु जनताको माझमा पुग्नु आवश्यक रहेको बताउनुभयो । उहाँले विगत बाट सिकेको पाठलाई ग्रहण गर्दै नयाँ योजनाका साथ जनप्रतिनिधिहरु सक्रिय हुने समय आएको बताउनुभयो । रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकले नगरको विकासको लागि एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको सञ्चालनमा भएको हो ।




यस्तै सभाको अवसरमा रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई जिल्ला मै उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । नगरको नमुना विद्यालय दरैठाँटी माध्यमिक विद्यालय बाट चार जीपीए ल्याउन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगद सहित सम्मान गरेको हो । कुँवरलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगर १० हजार र सम्मान पत्र सहित दोसला ओढाई सम्मान गर्नु भएको थियो । सिङ्गो नगरको गरिमा उच्च बनाउन सफल भएको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।


साथै नगरपालिकाले उत्कृष्ट नतिजा दिन सफल दरैठाँटी माध्यमिक विद्याललयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटालाई ढाका टोपी र सम्मान पत्रले सम्मान गरेको हो । कुँवरका अभिभावक मान बहादुर कुँवरलाई पनि सम्मान गरेको थियो । सभाको अवसरमा १४ वर्ष नगरपालिकामा करारमा कार्यरत रही हाल स्वऐच्छिक अवकाश लिनु भएका कार्मचारी शिवा देवी थापालाई सम्मान गरिएको थियो । दोसला र सम्मान पत्र सहित नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत २ लाख ९४ हजार प्रदान गरी थापालाई सम्मान गरेको हो ।

 
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update