Erani Mahal
रामपुर–कपुरकोट सडक निर्माणमा ढिलाई, यात्रामा सास्ती

तानसेन – प्रदेश सरकारको गौरवको आयोजना रामपुर–कपुरकोट सडक निर्माणमा ढिलाई भएको छ । बजेट अभावका कारण पाँच वर्षदेखि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट पुग्ने सडकको काममा ढिलाई भएको हो । आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा सडक निर्माणको काममा ढिलाई भएको आयोजना पक्षले जनाएको छ । सडक निर्माणका लागि कराेडाैँकाे बजेट चाहिएपनि प्रदेश सरकारबाट कम वजेट विनियाेजन हुँदै आएकाे छ । सडक समयमै बन्न नसक्दा रामपुर, निस्दी, पूर्वखाेला, रम्भाका बासिन्दाले हिलाम्य र धुलाम्य सडकमा यात्रा गर्न बाध्य छन् ।
रामपुर–कपुरकोट आयोजना अन्तर्गत पाल्पामा झण्डै दुई किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । होलाङ्दी–ढुङ्गाखानी सडकखण्डमा झण्डै किलोमिटर सडक पिचको काम भएको छ । यसबाहेक गत वर्षदेखि आर्यभाङ्ज्याङ्–रामपुर सडकखण्डको हुमिन–ताहुँ क्षेत्रमा साढे चार किलोमिटर सडक निर्माणको काम भइरहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

ram-p-capurkot-1719152896.jpg

साढे चार किलोमिटर सडक निर्माणका लागि २४ करोड २६ लाख रुपियाँमा दिव्यज्योति कन्ट्रक्सनसँग आगामी २०८२ असार १९ गतेभित्र काम सक्ने गरी सम्झौता भएको कार्यालय प्रमुख बासुदेव भण्डारीले जानकारी दिनुभयो । यो वर्ष हार्थोक छहरा र हुमिन ताहुँ खण्डको काम गर्न भनेर आठ करोड मात्र बजेट आएको थियो । तर हार्थोक छहरा क्षेत्रमा भने कामै हुन नसकेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । टेण्डर भइसकेको क्षेत्रको काम सक्न पनि बजेट अभाव रहेको कार्यालय प्रमुख भण्डारीको भनाई छ । बजेट अभावले काममा सुस्तता आएको उहाँले स्वीकार गर्नुभयो । 
प्रदेश सरकारले गौरवको आयोजना भनेपनि बजेट पर्याप्त विनियोजन गर्न नसकेको सरोकारवाला निकायको भनाई छ । रामपुर–कपुरकोट सडक निर्माण हुने भनेर भनेको पाँच वर्ष भएपनि सोचेअनुसार काम नहुँदा रामपुर–आर्यभाङ्ज्याङ्–हार्थोक–छहराका बासिन्दाले सास्ती बेहोर्न बाध्य भएका छन् । गौरवको आयोजना अलमलमा परेपछि सडक जीर्ण बनेको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताउनुभयो । प्रदेश सरकारले गौरवको आयोजनालाई खासै प्राथमिकता दिन नसक्दा सडक निर्माणको काम लामो समयदेखि अलपत्र बनेको खनालले बताउनुभयो । 
रामपुर कपुरकोट सडकअन्तर्गत पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र सल्यान गरी २९० किलोमिटर सडक निर्माण गर्ने योजना छ । त्यसमध्ये सबैभन्दा बढी १०५ किलोमिटर सडक पाल्पा क्षेत्रमा निर्माण गर्ने योजना रहेको छ । यो सडक निर्माण गर्नका लागि २० अर्ब बजेट लाग्ने अनुमान लुम्विनी प्रदेश सरकारले गरेको छ । रामपुर–कपुरकोट सडकखण्ड अन्गर्ततको सडक हार्थोक–छहरा खण्ड पनि अलपत्र बनेको छ । 

IMG-20240626-WA0003-1719380866.jpg
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update