Erani Mahal
सत्ता समिकरण ८४ सम्मै जान्छ : एमाले महासचिव पोखरेल

पाल्पा –  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिलेको सरकारको समीकरणले आगामी २०८४ सम्म निरन्तरता पाउने बताउनुभएको छ । नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीहरूका बीचमा तत्काल पार्टी एकता गर्ने पक्षमा आफूहरू नरहेको बताउनुहुँदै उहाँले नीति र कार्यक्रम अनुसार सहकार्य हुने बताउनुभयो ।
उहाँले अहिले सत्ता परिवर्तन गरिरहने प्रवृत्तिले मुलुकमा निरासा छाएको उल्लेख गर्नुहुँदै आर्थिक सङ्कट र निरासा हटाउन एमालेले पहल लिएको जानकारी दिनुभयो । अहिले बनेको समीकरणलाई बालियो राष्ट्रिय शक्ति बनाउने उद्देश्यले अघि बढेको पनि महासचिव पोखरेलले बताउनुभयो । 
देशलाई सही बाटोमा डो¥याउने जिम्मेवारी एमालेले मात्रै पूरा गर्न सक्ने दावी गर्दै महासचिव पोखरेलले स्वतन्त्र र राजावादीहरूले व्यवस्थामाथि उठाएको प्रश्नको जवाफ हालै सम्पन्न भएको उप निर्वाचनले दिएको बताउनुभयो । 
कार्यक्रममा एमाले केन्द्रीय सचिव पदमा अर्यालले सहकारीको रकम हिनामिनाबारे संस्थागत छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले व्यक्तिलाई मात्र केन्द्रमा राखेर गरिने छानविनले समग्र सहकारीको समस्या पहिचान हुन नसक्ने दावी गर्नुभयो । कार्यक्रममा एमाले नेताहरू ठाकुर गैरे, लिला गिरी लगायतले शुभकामना मनतव्य राख्नुभयो ।
कार्यक्रममा जाजरकोट भूकम्प पीडितका लागि घर बनाउन पुगेका टोलीलाई सम्मान गरिएको छ । यस्तै जिल्लाको प्रथम अधिवेशनबाट तत्कालित पार्टी सचिवमा निर्वाचित जिविस पूर्वसभापति झपेन्द्रबहादुर जिसी र दोस्रो अधिवेशनबाट सचिवमा निर्वाचित एमालेका नेता दलबहादुर रानालाई सम्मान गरिएको थियो । 
तानसेनमा जारी अधिवेशनमा जिल्लाभरबाट ४५० बढी प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनमा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त प्रतिवेदनमाथि सामूहिक छलफल गरेर पारित गरिने एमाले नेताहरूले जनाएका छन् । जिल्ला अध्यक्षका लागि वर्तमान सचिव भोजराज पोखरेल (रामजी) र पूर्वसचिव ओमबहादुर घर्तीले दावी गर्नुभएको छ । नेताहरूले सहमतिका आधारमा नेतृत्व चयन गर्ने जनाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update