Erani Mahal
विपदका घटना न्युनीकरण गर्न पूर्वतयारी गरिने

तानसेन – जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले मनसुनजन्य विपद्को पूर्वतयारी गर्ने निर्णय गरेको छ । यो समयमा अत्यधिक गर्मी, बाढी पहिरोबाट हुन सक्ने क्षतिलाई न्युनीकरण गर्न पालिकाहरूले आवश्यक सबै तयारी गर्ने निर्णय बैठकले गरेको छ ।  

बाढी पहिरोबाट सडक, विद्युत्, खानेपानी अबरोध हुन नदिन सम्बन्धित कार्यालयहरूले पूर्व तयारी गर्ने, एम्बुलेन्स, खाद्यान्न, स्वास्थ्य र सुरक्षा क्षेत्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष आनन्द काफ्लेले जानकारी दिनुभयो । बैठकले यो वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित गरेको छ । बैठकले तिनाउ गाउँपालिका क्षेत्रका नदीमा पौडी खेल्न रोक लगाउने निर्णय समेत गरेको छ । सो क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेकाले आगन्तुकलाई पौडी खेल्न रोक लगाउने निर्णय गरिएको हो ।sda-1716215889.jpg

यस्तै गएको चैत, बैशाखमा महिनामा भएका डढेलोका घटनाबाट क्षति पुगेका पीडित परिवारलाई तत्काल सहयोग गर्ने, राहतका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको छ । यो वर्ष विगतमा भन्दा अत्यधिक गर्मी हुने र वर्षात् पनि अत्यधिक हुने जल तथा मौसम पूर्वानुमान विभागले प्रक्षेपण गरेको छ । 
यो वर्ष वर्षात्को समयमा पाल्पा पनि प्रभावित हुन सक्ने भएकाले आवश्यक तयारी गर्नुपर्नेमा प्रजिअ काफ्लेले जोड दिनुभयो । बैठकमा जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कार्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update