कोइलिले गीत गाउन छोडी सुरिलो भाकामा
रुदै छ न्याउली बिरह पोखी ती डाँडापाखामा
डाँफेर मुनाल समुन्द्रपारी बसाई सरेसी
सुन्य भो गाउँ मादलको ताल घन्किन छोडेसी
तराई सुन्य हिमाल शून्य, शून्य भो पहाड,
दिनानुदिन नेपाली भूमि बन्दैछ उजाड।
कसरी भनु फर्कन युवा रित्तै भो गाउँ घर
टुहुरा जस्तै बाबा र आमा शून्य छ सहर
हजारौं सपना साकार पार्न लडाइमा भिँडेथ्यौ
आमाको काख रित्याउन होइन भर्नलाई हिँडेथ्यौ
हिरा र मोती फलाउने सपना स्वदेशी माटोमा
अधुरै रह्यो सपना सबै लुटियो बाटोमा।
हिडेको थिए आमाको चोलि फेर्दिउला भनेर
साहुको ऋण बाबाको चोटमा मलम बनेर
न बुझ्यौ मर्म न दियौ बाँच्न स्वदेशी भुमिमा
सपना पुरा गर्नेछु आमा म अर्को जुनिमा
अबको शिक्षा सबैको इच्छा नेपाली जनमा
हिन्दी, फारसी,कोरियन यस्तै जापानिज भाषामा
दिउँसमा होइन उदाओस् अव रातीमा चर्को घाम
अर्को जन्म नेपालमा होइन विदेशमै हुन पाम
शोभा कडरिया कोइराला
२०८०/१०/०२