पाल्पा – तीन महिनादेखि निर्माण अबरुद्ध बनेको सिद्धबावा सुरुङ् मार्गको निर्माण पुन सुरु भएको छ । सुरुङ् मार्गको दुई वटा ढोका पहिरोले बगाएपछि अबरुद्ध बनेको निर्माणको काम काम पुन सुरु गरिएको आयोजना पक्षले जनाएको छ ।
गत साउन पहिलो साता गएको पहिरोले सुरुङ् मार्गको दुबैतर्फको ढोकामा क्षति पु¥याएको थियो । अहिले पुन क्षति पु¥याएका ढोकाबाट निर्माणको काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।
दसैँपछि सिद्धबाबा सुरुङ् मार्ग निर्माणको कामले गति लिएको सिद्धबावा सुरुङ् मार्ग योजनाको कार्यालय बुटवलले जनाएको छ । वर्षात्को कारणले रोकिएको काम दसैँपछि सुरु भएको योजना प्रमुख रामपुकार जैसवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन महिनाअघिको वर्षात्ले ढोकामा पहिरो गएपछि रोकिएको सुरुङ् मार्गको निर्माण पुन सुचारु भएको छ ।’ वर्षात्अघि नै टनेलभित्र छिरेर काम गर्ने योजना भएपनि सुरुङ्मार्ग भित्र पसेर काम गर्ने तयारी असफल भएको उहाँले बताउनुभयो ।
निर्माणको जिम्मा लिएको कम्पनीले अहिले सुरुङ् मार्गको बाहिरपट्टि सरसफाइको काम गरिरहेको छ । सुरुङ्को दक्षिण र उत्तरतर्फको ढोका माथिबाट खसेको पहिरोलगायत ढुङ्गा हटाउने काम गरिरहेको छ । यसअघि बनाएको टनेको ढोकाको क्षतिको अवस्था हेरेर थप काम गरिने निर्माण कम्पनीले जनाएको छ ।
निर्माण पक्षले हालसम्म त्यस स्थानमा आवश्यक अन्य पूर्वाधार डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायतका काम गरिसकेको छ । सुरुङ् मार्गको काम २०७९ असोज महिनादेखि नै सुरु गर्ने भनिएपनि डिजाइनको स्वीकृत नहुँदा २०७९ चैतदेखि निर्माणको काम सुरु भएको थियो ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने ढुङ्गा तथा पहिरोका कारण हरेक वर्ष आठ/दस जना नागरिकले ज्यान गुमाउनु परेको भन्दै सरकारले सुरुङ मार्ग बनाउने योजना अघि सारेको थियो ।
सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने तानसेनका स्थानीय बासिन्दाको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय