पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाले वडा स्तरमा योजनाहरुको उपभोक्ता समितिलाई तालिम दिन सुरु गरेको छ । गाउँपालिकाको ८ वटै वडाहरुमा संचालन हुने तालिम वडा नं. ४ झडेवाबाट सुरु भएको छ ।
तालिमको प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले गाउँपालिका तथा वडाबाट विनियोजन भएर काम सुरु हुने योजनामा प्रक्रियागत र कानूनी ज्ञान दिन तालिम दिइएको बताउनुभयो । उहाँले तालिममा सिकेमा ज्ञान सीप व्यवहारमा लागु गर्न र अन्य उपभोक्ताहरुलाई समेत जानकारी दिन सहभागिहरुलाई आग्रह गर्नुभयो । उहाँले पालिकोको कामको लागि असार मसान्तसम्म जानुपर्ने अवस्था अन्तय गर्नको लागि समयमै उपभोक्ता समिति गठन, ठेक्का लगायतका काम गरेर योजनाहरुको सम्झौंता गरी समयमै सम्पन्न गर्ने लक्ष्यको साथमा पालिकाले काम गरेको बताउनुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष शंकर थापा दर्लामीले वडामा बस्ती स्तरबाट छनौट भएर बजेट विनियोजन भई उपभोक्ता समितिहरु समेत गठन भएकोले त्यसलाई व्यवहारिक समस्या नहोस भनेर तालिम दिइएको बताउनुभयो । उहाँले योजना कसरी सचालन गर्ने र कसरी समयमै काम सम्पन्न गर्ने गरेर लाग्न सबै उपभोक्ता र समितिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले गाउँपालिकाबाट वितरण गरिएको बजेट योजना संचालन र योजनावद्ध रुपमा खर्च गर्न, उपभोक्तालाई काममा झन्झट नहोस भन्ने अभिप्रायले तालिम दिइएको बताउनुभयो । उहाँले तालिम सबै वडाहरुमा दिएर योजनाहरु समेत संझौता गरी कामको सुरुवात गर्ने बताउनुभयो ।
तालिममा योजना अधिकृत नित्यानन्द खनाल, आन्तरिक लेखा परीक्षक पाँचौ प्रमोद भट्टराई लगायतले उपभोक्ता समितिलाई तालिम सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय