Erani Mahal
एकल पुरुषलाई पनि सामाजिक सुरक्षामा जोड्दै पाल्पाका पालिका
samajik_surakshit Vatta
पाल्पा - पाल्पाका पालिकाहरूले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्तामा समावेश गरेका छन् । जिल्लाको निस्दी गाउँपालिकाले पालिकाभित्रका एकल पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरेको हो । एकल पुरुषलाई पनि राज्यले संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ मासिक भत्ता दिन थालिएको निस्दी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत आव २०७९/०८० मा ५९ जना जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको छ । पालिकाभित्रका ६० देखि ६७ वर्ष उमेरका ५९ जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पन्जिकरण शाखाका प्रमुख श्रीकृष्ण खन्गाहाले बताउनुभयो । एकल पुरुषलाई मासिक एक हजार रुपियाँका दरले तीन किस्तामा भत्ता वितरण गरिएको सन्गाहाले बताउनुभयो । भत्ता पाउनेमा १९ जना अविवाहित पुरुष छन् भने ४० जना विवाहित तर हाल एकल रुपमा जीवन बिताएका पुरुष रहेका छन् । अरु नागरिकले जस्तै समाजमा जीवन जीउन सहज होस् भनेर एकल पुरुषका लागि मासिक भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । चालु आवमा पनि एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने योजना रहेको उहाँको भनाई छ । जिल्लाका अन्य पालिकाहरूले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिकको जस्तै एकल पुरुषको अभिभावकत्व लिन उनीहरूलाई मासिक भत्ता दिन थालेको हो । जिल्लाको तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा एकल पुरुषलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने योजना अघि सारेको थियो । त्यसका लागि नगरभित्रका १४ वटै वडामा सूचना जारी गरेपनि एक जनाको पनि भत्ताका लागि दावी नपरेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले ५० वर्षमाथिका एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता कार्यक्रममा समावेश गर्ने योजना ल्याइएपनि लाभग्राही नभेटिएको नगरपालिकाका योजना शाखा प्रमुख दुर्गाबहादुर थापाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update