Erani Mahal
दसैंमा बाेटे समुदायलाई खानकै चिन्ता
bote gaun palpa
पाल्पा - बडादसैंमा हुनेखानेका घरमा उल्लास छ तर हुँदा खानेलाई त्यो अवसर कहाँ मिल्छ र ? पाल्पाका बोटे, माझी समुदायमा सधैंजस्तै यसपालिको दसैं पनि खल्लो छ । पाल्पाको कालीगण्डकी नदीको किनारमा बसोबास गर्दै आएका यी समुदायलाई दसैं मनाउने भन्दा पनि दैनिक गर्जो कसरी टार्ने भन्ने चिन्ता बढी छ । बगनासकाली ६ दर्पुककी अन्जिता बोटे परिवारसँग खुसी साट्ने र रमाइलो गर्ने यो पर्वमा घरमा आउने पाहुना र आफ्नै परिवारका सदस्यको खर्च धान्न मुस्किल हुने गरेको बताउनुभयाे । ‘दसैं पर्वले कुनै रौनक ल्याएको छैन,’ उहाँले भन्नुभयाे । यो समुदायका मानिसहरु दिनभरी मेहनत गरेको कमाइबाट बेलुकाको खर्चको जोहो गर्ने प्रचलन रहेका कारण अन्य दिन जस्तै सामान्य तरिकाबाट पर्व मनाउने सोचमा रहेको बगनासकाली ६ सन्तबीर बोटेले बताउनुभयाे । पाल्पाको बगनसकालीको दर्पुक, मचेटा, दैलातुङ्ग, तानसेनको छेर्लुङ्ग, रम्भाको अर्सेदी, लगायतका स्थानमा बोटे माझीको समुदायको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पाका ५७८ बोटे तथा ३४५ माझी समुदायको जनसंख्या छ । यीमध्ये ५० प्रतिशतभन्दा बढीलाई अहिले पर्व मनाउनका लागि हम्मेहम्मे रहेको उनीहरु बताउँछन् । यी समुदायका मानिसहरु नदी किनारमा माछा मारेर परिवारको गर्जो टार्ने गर्दछन् । तर, पछिल्लो समय माछा मारेर गुजारा नचल्ने र अन्य सीप कम भएकाहरुले ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने गर्दै आएका छन् । कतिपय घर खर्च चलाउन काम खोज्दै भारतका विभिन्न स्थानमा जाने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update