पाल्पा – पाल्पाको रिव्दीकोट–४, मा रहेको भैरवस्थान मन्दिर नेपालकै प्रशिद्ध मन्दिरमध्ये एक हो । हरेक वर्षको बडा दशैँको बेला यहाँ हजारौँ भक्तजन मन्दिर दर्शन तथा पूजाका लागि धाउने गर्दछन् । सदरमुकाम तानसेनदेखि नौँ किलोमिटर पश्चिमतर्फ लागेपछि भैरवस्थान मन्दिरमा पुग्न सकिन्छ ।
वि.स. १४६५ मा पाल्पाका राजा मुकुन्द सेनले निर्माण गर्नुभएको ऐतिहासिक मन्दिर भैरवस्थानमा बडा दशैँमा विशेष पूजाआजा हुन्छ । देशभरका विभिन्न स्थानबाट भक्तजन बली चढाउनका लागि यहाँ आउने गर्दछन् । दशैँको दुर्गादेखि नवमीसम्मको अबधिमा मात्रै पाँच-छ हजार बोकाको बली यहाँ चढाइन्छ ।
जिल्लाभित्र र जिल्लाबाहिरबाट आउने भक्तजनले आफ्नो भाँकलको रुपमा कुखुरा, हाँस, बोका र पाडाको बली चढाउने प्रचलन रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, दशैँको दुर्गादेखि नवमीसम्ममा पाँच-छ हजार बोकाको बली चढ्छ, दुई/तीन सय पाडोको बली चढ्छ ।’ कुखुरा र हाँसको गणना नै हुँदैन । जिल्लाभित्रका भक्तजनले पन्चबलीको रुपमा हाँस, कुखुरा, बोका, पाँडो बलीको रुपमा चढाउँछन् । भक्तजनले मन्दिरमा परेवा उडाउने प्रचलनसमेत रहेको छ । बडा दशैँको बेलामा भक्तजनको घुँइचोले व्यवस्थापन गर्न समस्या हुने गरेको समितिले जनाएको छ ।
भैरवस्थान मन्दिरलाई जिल्लाभित्रको प्रमुख शक्तिपीठको रुपमा समेत लिइन्छ । जिल्लाभित्रका अन्य शक्तिपीठ मन्दिर, कोटघर, थुम्का, देवी मन्दिरमा पनि बली चढाउने प्रचलन रहेपनि भैरवस्थानमा सबैभन्दा बढी भक्तजनको विस्वासिलो शक्तिपीठ मानिन्छ । त्यसैले यहाँ हरेक वर्ष दशैँको बेलामा विशेष घुँइचो लाग्ने गरेको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो ।
यहाँको काल भैरवलाई शक्तिको रुपमा पुज्ने र मनोकामना पूरा गर्न बली चढाउने प्रचलन रहेको उहाँले बताउनुभयो । वर्षभरिमा मन्दिरमा आउने दश लाख बढी भक्तजनमध्ये दशैँका बेलामा मात्रै पाँच लाख भक्तजन आउने गरेको उहाँले बताउनुभयो । जिल्लाकै व्यवस्थित रुपमा सञ्चालन भएको मन्दिरमा वार्षिक ५० लाख बढी भेटी मात्रै सङ्कलन हुने गरेको छ ।
भैरव मन्दिरको मुख्य बिशेषता मध्ये यहाँ चढाइने रोटी पनि हो । एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोटी चढाइने प्रचलन छ । पिठोमा नरिवल, किसमिस, छोकडा, ल्वाङ, सुकुमेल जस्ता मसालाहरु मिसाएर घिउमा पकाउने गरिन्छ । यसरी बनाएको रोटी बटुक भैरब तथा देवीलाई चढाउने प्रचलन रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८० २०:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय