Erani Mahal
पाल्पा दुर्घटनाका मृतक ६ जना एकै परिवारका
deat accident palpa
पाल्पा – पाल्पाको रानीमहल नजिकै आइतबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुने ६ जना एकै परिवारका रहेको खुलेको छ । दसैंमा रानीमहल घुमेर फर्कने क्रममा तानसेन–रानीमहल सडकखण्डको बैकुण्ठ भीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा परेका सात जना पूर्वी नवलपरासी जिल्ला, देवचुली नगरपालिका–१६ रजहरका स्थायी बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा परी मृत्यु हुने ६ जना र एक जना गम्भीर घाइते लोहनी परिवारका सदस्यहरू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताउनुभयो । उनीहरू एकै परिवारका श्रीमान, श्रीमती, सम्धिनी, बुहारी र दुई नाती रहेका छन् । दुर्घटनामा ६५ वर्षका कृष्णबहादुर लोहनी, ५५ वर्षकी पार्वती लोहनी श्रीमान, श्रीमती रहेको पुष्टि भएको छ । यस्तै कृष्णबहादुरका बुहारी र दुई नातिहरूको समेत दुर्घटनामा मृत्यु भएको छ । अढाइ वर्षका ईसव लोहनी र ११ वर्षका सबिस कृष्णबहादुरका नाति रहेको बताइएको छ । यस्तै मृतक बुहारी ३५ वर्षकी सबिना धिताल र बुहारीकी आमा ५५ वर्षकी चुनु धिताल रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते चालक ३६ वर्षका इश्वर कृष्णबहादुरका छोरा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरू दसैंमा घुम्न जाने भनेर शनिबार घरबाट हिँडेका थिए । दुर्घटना के कारणले भएको भन्ने अझै खुलेको छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update