पाल्पा – खेर गएको जग्गामा लगाएको टिमुर खेतीले पाल्पाका एक हजार बढी किसान लाभान्वित भएका छन् । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाएको टिमुर खेतीले पाल्पाका एक हजार बढी किसानलाई फाइदा पुगेको हो ।
असारको अन्तिमसातादेखि असोज÷कात्तिक महिनासम्म टिमुर बिक्री गरेर पाल्पाका किसानले वार्षिक तीन लाख रुपियाँसम्म आम्दानी लिएका छन् । खेर गइरहेको जग्गामा टिमुर खेती गरेर यहाँका किसानले ५० हजारदेखि तीन लाखसम्म आम्दानी गरेको उनीहरूको भनाई छ । घरको बारी, ढिक तथा वनमा लगाएको टिमुरबाट वार्षिक दुई लाख आम्दानी गरेको रिव्दीकोट–६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताउनुभयो । चार वर्षअघि खेर गएको जग्गामा लगाएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उहाँले बताउनुभयो ।
पछिल्लो समय अर्गानिक र औषधीजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण शहरी क्षेत्रमा टिमुरको माग अत्याधिक छ । बजारमा अचार बनाउन, तरकारी झान्न, मसला बनाउन, सुप बनाउन तथा अन्य परिकार र औषधी बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मुल्य पाएको किसानको भनाई छ । टिमुर किन्न बजारका मानिसले खोसाखोस गरेको माथागढी–३, सिलङ्गीका किसान दुर्गासिंह ढेगामगरले बताउनुभयो । टिमुरलाई बजारसम्म लैजादा प्रतिकिलो एक हजार रुपियाँसम्ममा बिक्री भएको उहाँले बताउनुभयो ।
अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिन्छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुर खेती किसानका लागि फाइदाजनक र सुरक्षित खेती हुने गरेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालिन फाइदा हुन्छ ।’
एक पटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने पोखरेलको भनाई छ । डिभिजन वन कार्यालयले यो वर्ष टिमुरको पकेट क्षेत्र बनाउन विरुवा वितरण गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । जिल्लाको माथागढी, तिनाउ, निस्दी र तानसेनका नर्सरीमा उत्पादन भएका १५ हजार बढी टिमुरका विरुवा वितण गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० २१:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय