पाल्पा – जिल्ला सदरमुकामस्थित तानसेनमा रहेको दशैँ घरमा फूलपाती भित्र्याइएको छ । बडा दशैँको सातौँ दिन सप्तमीको दिन आज तानसेनको सिल्खानटोलमा रहेको दशैँघरमा नेपाली सेनाको व्यारेकबाट ल्याइएको फूलपाती भित्र्याइएको हो ।
सिल्खानटोलमा रहेको दशैँघरमा नेपाली सेनाको पाल्पास्थित दि फेमस महेन्द्र दल गणसहितको टोलीले केराको पात, अदुवा, दारिम, बयर, फूललाई भित्र्याएका हुन् । वि.स. १८७१ मा पाल्पामा तैनाथ तत्कालिन जनरल कर्णेल उजीरसिंह थापाले दशैँघरमा फूलपाती भित्र्याउने परम्पराको सुरुवात गर्नुभएको थियो । सोही बेलादेखि फूलपाती भित्र्याउने परम्परा कायमै रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।
यस्तै नेपाली सेना, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दशैँघरबाट बाजागाजा सहित फूलपाती लिन नेपाली सेनाको व्यारेक टुंडिखेलमा गएका थिए । व्यारेकबाट ल्याएको फूलपाती विषेश पूजासहित दशैँघरमा भित्र्याएको हो ।
सप्तमीको अवसरमा भगवती मन्दिर, भगवती निसान मन्दिर तथा जिल्लाका विभिन्न स्थानमा रहेका कोटघर तथा थुम्कामा विशेष पूजा गरिएको छ । यसैबीच जिल्लाका विभिन्न स्थानका शक्तिपीठ तथा देवी मन्दिर, थपना, कोटघरका फूलपाती स्थानीय बासिन्दा तथा भत्तजनले आफ्नो घरमा भित्र्याएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० २०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय