Erani Mahal
ज्ञान केन्द्रकाे बजेट तथा कार्यक्रम सार्वजनिकीकरण
Untitled-1
पाल्पा – कृषि ज्ञान केन्द्र पाल्पाले चालु आव २०८०/०८१ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले चालु आवका लागि चार करोड ३७ लाखको बजेत तथा कार्यक्रमबारे जानकारी दिनुभयो । उहाँले कृषि उपजको बजारीकरण, पाकेट क्षेत्र बिस्तार कार्यक्रम, सुन्तलाजन्य बस्तु उत्पादनका लागि कार्यक्रमका लागि बजेट प्राप्त भएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहसँगको सहकार्य र समन्वयमा कार्यक्रमको दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले ग्रामीण क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर दयनीय रहेकाले उनीहरू आर्थिक जीवनलाई समृद्ध पार्ने गरी कार्यक्रम बनाउनुपर्ने उल्लेख गर्नुभयो । यस्तै अर्का प्रदेश सभा सदस्य खेमबहादुर सारुले उत्पादन भएका बस्तुको बिक्री गर्न सके मात्र किसानको जीवनमा परिवर्तन आउने बताउनुभयो । उहाँले किसानका लागि आएको रकमको सही सदुपयोग हुनुपर्ने उल्लेख गर्नुभयो । यस्तै लुम्विनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले कार्यक्रमको कार्यविधि निर्माण गर्दा प्रदेशसभाका सदस्यले पनि जानकारी पाउने गरी भए त्यसको कार्यान्वयनमा प्रभावकारिता आउने बताउनुभयो । उहाँले बजेत तथा कार्यक्रमका बारेमा प्रदेशसभालाई जानकारी भएपनि कार्यान्वयनको तौरतरिकाबारे जानकारी नहुँदा सबैले अपनत्व लिन गाह्रो भएको बताउनुभयो । कार्यक्रममा रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, निस्दी गाउँपालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, सुन्तलाजात तथा फलफुल विकास केन्द्रका प्रमुख दिपक भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले वास्तविक किसानलाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षता र कृषि प्राविधिक लबकुश कुर्मीले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update