पाल्पा - ६८ औँ प्रहरी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा प्रहरी दिवस मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रहरी जतिबेला पनि नागरिकको सेवामा खटेको भन्दै प्रशंसा गर्नुभयो । जनताकाे सुरक्षाका लागि आवश्यकता अनुसारको जनशक्ति नभएपनि प्रहरीले अब्बल सेवा दिएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले नेपाल प्रहरी जनताको सुरक्षामा हरपल खट्न तयार रहेको बताउनुभयो । उहाँले बर्दी लगाएको प्रहरीलाई बर्दी नलगाएको नागरिक प्रहरीले आवश्यक सहयोग र सल्लाह दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवरले दिनुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो । कार्यक्रममा निवन्ध प्रतियोगितामा विजयी हुने विद्यार्थी तथा व्याडमिन्टन प्रतियोगितामा सफल हुने खेलाडीलाई सम्मान गरिएको थियो ।
यस्तै प्रहरी तथा शान्ति सुरक्षाका लागि सहयोग गर्ने संघसंस्था तथा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ठ प्रहरी कर्मचारीलाइ समेत सम्मान गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
कार्यक्रममा सहभागीहरूले अमर प्रहरीको शालिकमा पुष्प अर्पणसमेत गरेका थिए । कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी तथा अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रहरी दिवसकै अवसर पारेर जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी कर्मचारीको निशुल्क आँखा जाँच तथा उपचार र वृक्षरोपण समेत गरेको पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० २०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय