Erani Mahal
रामपुरमा टोल र वडाबाटै सामजिक सुरक्षा भत्ता वितरण
IMG_1955
पाल्पा - रामपुर नगरपालिकाले सामाजिक सुरक्षाभत्ता टोल मै पुगेर वितरण गर्न सुरु गरेको छ । यस अघि नगर १० वटै वडाका नागरिकलाई बैंकको शाखा मार्फत भत्ता वितरण गर्दै आएको नगरपालिकाले बैंक भन्दा पर रहेका नगरको ग्रामीण बस्तीको टोल मै पुगेर भत्ता वितरण थालेको हो । जनतालाई घरदैलो बाटै सेवा प्रदान गर्ने नगरको कार्यक्रम अनुसार आईतबार वडा नं. १ को टोल बाट भत्ता वितरण सुरु गरेको हो । आईतबार रामपुर नगरपालिका वडा नं. १ को टोल तथा पायक पर्ने नागरिकहरुलाई वडा बाट वितरण गरेको हो । वडा नं. १ को बर्दाकोट टोल बाट भत्ता वितरण सुरु गरिएको हो । कृषि विकास बैंकका कर्मचारीहरुको उपस्थितिमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित एवं रामपुर नगरपालिकाका प्रवक्त एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले टोल बाटै भत्ता वितरण कार्यको शुभारम्भ गर्नु भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले दुरीका हिसाबले टाढा रहेका वृद्ध बुवा आमा, अपाङ्गता भएका नागरिक र एकल महिलाहरुको लागि मध्यनजर गरेर टोल बाटै भत्ता वितरण सुरु गरिएको जानकारी दिनुभयो । जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन नगरका ग्रामीण भेग टोल बाटै सामाजिक सुरक्षा भत्ता प्रदान गरिने बताउनुभयो । दशैं अगावै रामपुर नगरपालिका वडा नं. १ र १० मा टोल बाटै भत्ता वितरण गर्ने कार्यक्रम रहेको र लगतै त्यस पश्चात वडा नं. ९ मा पनि टोल बाटै भत्ता वितरण गरिने बताउँदै उहाँले आवश्यकताको आधारमा नगरका अन्य स्थानमा पनि सुरु गरिने जानकारी दिनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले नगर कार्यपालिकाले निर्णय गरी कृषि विकास बैंक संग सम्झौता गरी बैंकका कर्मचारीहरुको उपस्थितिमा भत्ता वितरणको व्यवस्था गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिका वडा नं. १ का अध्यक्ष एवं नगर प्रवक्ता कपिल बहादुर खाँणले सरकारले दिने सेवा सुविधा प्राप्त गर्न पनि धेरै समय र गाडी भाडा खर्चेर कष्टका साथ जानु पर्ने वडाबासीहरुको बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताउनुभयो । यस कार्यलाई गत वर्ष नै सुरुवात गर्ने भनिए पनि प्राविधिक कारणले नसकिएकाले यस वर्ष बाट सुरु गरिएको जानकारी दिनुभयो । जनतालाई घरदैलो मै सेवा दिनका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालय र आवश्यकता अनुसार टोलमा पुगेर वितरण गरिने प्रवक्ता खाँणले बताउनुभयो । उहाँले वडाका ४ स्थान बाट पायक पर्ने स्थानका नागरिकलाई सेवा प्रदान गर्ने बताउनुभयो । आईतबार वडा नं. १ को बर्दाकोट र वडा कार्यलय बाट सेवा प्रदान गरिएको थियो । यस अघि कार्यक्रम सञ्चालनका लागि कृषि विकास बैंक रामपुर शाखाले टोलमा पुगेर बैंक खाता खोलेर अहिले भत्ता वितरण थालेको शाखाका प्रबन्धक केशवराज डोटेलले जानकारी दिनुभयो । टोल बाटै भत्ता बुझ्न पाउँदा जेष्ठ नागरिकहरु हर्षित भएका छन् । रामपुर १ बर्दाकोटका ९० वर्षिय थीर बहादुर थापा मगरले टोल बाटै भत्ता पाउँदा खुशी लागेको बताउनुभयो । “सुरुवातमा हामीले गाउँ बाटै भत्ता लिएका थियौं । विचमा बैंक बाट लिने भनेर रामपुर जानु पर्ने भयो । हिडेर जान नसकिने, गाडीमा चढेर जानु पर्ने बाध्यता थियो । अहिले फेरी गाउँ बाटै लिन पाउँदा खुशी लागेको छ ।” उहाँले भन्नुभयो । नगरपालिकाको कार्यले निकै सहज भएको पुन बहादुर सारुले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update