माधव अर्याल पाल्पा — सिद्धार्थ राजमार्ग मर्मत सुधारका काममा लापरबाही भएको छ । वर्षायामअघि गरेका कालोपत्रमा खाल्डाखुल्डी भइसकेको छ । अधिकांश स्थानमा सडक एकतर्फी सञ्चालन हुँदासमेत पहिरो पन्छाउने, गतवर्ष बिग्रेका सडकको मर्मतसम्भारमा समेत ध्यान दिइएको छैन । पछिल्लो पटक सडक डिभिजन पाल्पाले निकालेको ठेक्काको काममा समेत लापरबाही भएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान–सिद्धबाबा सडक खण्डमा रेनफोर्स सिमेन्ट कंक्रिट अर्थात् रिजिट पेभमेन्ट गर्ने क्रममा निर्माण व्यवसायीले लापरबाही गरेको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताउनुभयाे । ‘दैनिक ५ हजारभन्दा बढी सवारीसाधन गुड्ने सडक मर्मत तथा स्तरोन्नतिमा लापरबाही ढंगले काम हुुनु भएन,’ उहाँले भन्नुभयाे, ‘मैले पानीले गल्ने (स्यान्ड स्टोन) ढुंगा सडक ढलानका क्रममा नराख्न आग्रह गर्दागर्दै अटेरी गरे ।’ सडक डिभिजन, प्रमुख जिल्ला अधिकारी, तिनाउ गाउँपालिकासमेत सरोकारवाला निकायलाई जानकारी गराएको उहाँको भनाइ छ ।
सत्यवती कन्स्ट्रक्सन प्रालिले सिद्धार्थ राजमार्गको सिद्धबाबा, प्रभास, पिपलडाँडाको सेरालगायत स्थानमा रिजिट पेभमेन्ट, कालोपत्रलगायत कामका लागि ५ करोड ७५ लाखमा सम्झौता गरेर ठेक्का लिएको छ । लापरबाही ढंगले काम गरेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधिले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयमा उजुरी गरेका थिए । उजुरीका आधारमा अनुगमन गरेर लापरबाही ढंगले गरेको काम सच्याउन लगाइएको सडक डिभिजन प्रमुख बाबुराम सापकोटले बताए । दोभाननजिकै सिद्धबाबा खण्डमा झन्डै ५० मिटर सडक ढलान गर्ने क्रममा कमसल ढुंगा प्रयोग गरेको, बालुवा, ढुंगा प्रयोगमा लापरबाही गरेको गुनासाका आधारमा अनुगमन गरिएको हो ।
स्यान्ड स्टोन प्रयोग गरेकाले त्यसलाई हटाएर बलियो ढुंगा राख्न लगाइएको र अन्य काममा पनि पुनः लापरबाही नगर्न निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख खनालले जानकारी दिए । सडक डिभिजनबाट खटिएका सुपरभाइजरले कमसल ढुंगा प्रयोग नगर्न आग्रह गर्दागर्दै निर्माण व्यवसायीले जबर्जस्ती कमसल ढुंगा राखेर ढलान गर्न बिछ्याएका हुन् ।
स्थानीय, जनप्रतिनिधिले सरोकारवाला निकायमा जानकारी गराएर रोक्न माग गरेका थिए । त्यसैका आधारमा अनुगमन गर्दा निर्माण व्यवसायीबाट गल्ती भएको भेटिएकाले पुराना कमसल सबै ढुंगा निकालेर बलियो राख्न लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख सापकोटाको भनाइ छ । ठेक्कामा भएको सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीलाई नियमानुसार कारबाही हुने सडक डिभिजनले बताएको छ । ‘जानकारी पाउनासाथ अनुगमन गरिएको छ,’ उहाँले भन्नुभयाे, ‘गलत भएका कामलाई सच्याउने र अटेरी गरेमा भुक्तानी रोकिनेछ ।’
गलत काम गर्ने निर्माण व्यवसायीको मूल्यांकन नगरिने बताउनुभयाे । राजमार्गमै गलत ढंगले काम गरेको र यसलाई सच्याउन लगाइएको तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाको भनाइ छ । ‘सबैको आँखा पर्ने राजमार्गमै यस्तो हालत छ,’ उनले भने, ‘अन्यत्र कस्तो काम गरेका होलान् भन्ने जस्तो भयो ।’ गलत गरेको छ भने सच्याउन लगाउने र अटेरी गरे सडक डिभिजनले कानुनी प्रक्रियाअनुसार नै कारबाही गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयाे । राजमार्ग छेउकै बलियो ढुंगा भनेर राखेको तर प्राविधिक रूपमा कमजोर भएकाले खोलाको ढुंगा राखेर सोलिङ गरेको सत्यवती कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि निम्नप्रसाद ढकालको भनाइ छ । प्रोजेक्ट मेनेजर र श्रमिकका कारण सामान्य गल्ती भएकाले सच्याउन लगाइएको कन्स्ट्रक्सनका प्रालिका प्रमुख किसन आचार्यले बताउनुभयाे । करोडौं रुपैयाँको काम गर्दा एक टिप्पर ढुंगा जोगाएर केही नहुने उहाँको भनाइ छ ।
मध्यरातमा ढुंगा चोरी
प्रहरीले राजमार्गको दोभान नजिकै राति १२ बजे अवैध रूपमा ढुंगा निकासी गर्ने जेसीबी र टिपर नियन्त्रणमा लिएको छ । तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नागमन्दिर नजिकै सिद्धार्थ राजमार्गमा दुईवटा जेसीबीको प्रयोग गरी मध्यरातिको समयमा अवैध रूपमा ढुंगा उत्खनन गरेको अवस्थामा प्रहरीले चेनवाला जेसीबी, अर्को जेसीबी साथै दुई वटा टिपर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयाे ।
वाग्मती प्रदेश ०१–००३ प ९१९४ नम्बरको चेनवाला जेसीबी, प्रदेश ३ ०१–०३ क ६७७७ नम्बरको जेसीबी साथै लु २ ख ३६६२ र लु २ ख ३९६४ नम्बरको १० चक्के टिपर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षकसहितको प्रहरी टोलीका साथै स्थानीयको सहयोगमा मध्यरातमा अवैध ढुंगा खानी सञ्चालन गरेर निकासी गर्न लाग्दा पक्राउ परेका हुन् । जेसीबी र टिपरलाई गाउँपालिकामा बुझाइएको छ । दुई वटा टिपरबाट २५ हजारका दरले जरिवाना लिइएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ ।
राति १२ बजे ढुंगा निकालेको भेटिएकाले शंकास्पद देखिएको उनले बताए । सत्यवती कन्स्ट्रक्सनले एक वर्षमा सक्नुपर्ने काम सिद्धार्थ राजमार्गको दोभान खण्डमा तीन वर्षसम्म ठेक्काको काम नगरी ढुंगाखानी सञ्चालन गरेको थियो । सडक डिभिजन कार्यालयका कर्मचारी भने निर्माण व्यवसायीसँगको मिलेमतोमा काममा ढिलाइ गर्दासमेत बेवास्ता गर्दै आएको छ । यही कन्स्ट्रक्सनले रूपन्देहीलगायत स्थानमा सञ्चालन गरेको योजनामा समेत ढुंगा चोरी निकासी गर्दै आएको थियो । जनप्रतिनिधिलाई व्यक्तिगत रिसइबी भएकाले बाटो सफा गर्ने, ढुंगा उठाउने कामलाई ध्यान दिएकाले प्रक्रिया नपुगेकाले राजस्व तिरेको सत्यवती कन्स्ट्रक्सनका प्रमुख आचार्यले बताउनुभयाे ।
दसैंको मुखमा राजमार्ग एकतर्फी
दसैंको मुखमा अत्यधिक सवारी गुड्ने सिद्धार्थ राजमार्गका धेरै स्थान एकतर्फी छन् । तर सडक डिभिजनले समयमै मर्मत र सुधारको काम अघि बढाएको छैन । दसैंको मुखमा निर्माण व्यवसायीले सडक ढलानको काम गर्दा सवारी र यात्रुलाई थप सास्ती भएको छ ।
दोभान सिद्धबाबा खण्ड, सिसुवा, हिउँदेखोलालगायत स्थानमा सडक ढलाको काम अघि बढेको छ । जसले गर्दा सवारीसाधन दुईतर्फी गुड्न नसकेको सडक डिभिजन कार्यालयका इन्जिनियर शिव खनालले जनाए । राजमार्गको सिद्धबाबा, भुतखोला, सिसुवा, हिउँदेखोला, कालीमाटी, डुम्रे, पिपलडाँडालगायत स्थानमा पनि सडक एकतर्फी छ ।
सडक भासिने, पहिरो जाने भएकाले ती स्थानमा सडक एकतर्फी गरिएको सडक डिभिजनका इन्जिनियर खनालले जनाए । ‘अघिल्लो वर्षदेखिकै काम बाँकी छन्,’ उनले भने, ‘चाडपर्वका बेला सकेसम्म दोहोरो सवारी गुड्न मिल्ने गराउँछौं ।’ इन्जिनियर खनालले भने जस्तो तत्काल दुईतर्फी यातायात सञ्चालन हुने अवस्था भने छैन । पाल्पा–गुल्मी सडकका ठाउँठाउँमा सडक बिग्रने, भत्कने, पहिरो जाने भएको छ । अधिकांश स्थानमा सडक बिग्रेर दुईतर्फी सवारी चल्न सक्ने अवस्था छैन । तानसेनको ढुंगाखानी, रिब्दीकोटको जोर्ते, मालमुल, लघुवालगायत स्थानमा सडकमा खसेको पहिरो नै पन्छाइएको छैन । राजमार्गमा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, म्याग्दी, मुस्ताङसम्म दैनिक १० हजारभन्दा बढी ठूलासाना सवारी गुड्छन् ।
इकान्तिपुरका उपसम्पादक माधव अर्यालको सहयाेगमा ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० १२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय