पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । आ.व. २०८०।०८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा अन्तगर्तको जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिला, विधुवा महिला, जेष्ठ नागरिक दलित (६० वर्षमाथी), दलित बालबालिका, अपाङ क र ख वर्गका लाभग्राहीहरुलाई गाउँटोलमै पुगेर भत्ता वितरण गरिएको हो । माथागढी गाउँपालिकाले दशैं खर्चको लागि गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि स्थानीयहरु दंग परेका छन् ।
वडा नं. ४, ५, ६, ७ र ८ का लाभग्राहीलाई गाउँपालिकाको आयोजनामा बैंक मार्फत भुक्तानी गरी माथागढीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बेैंकको समन्वयमा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले रानीमहललाई बताउनुभयो । चिदीका अनुसार दुर्गम गाउँबस्तीका जनताहरु बैंकसम्म आउन जान समेत समस्या हुने भएकाले टोलमै पुगेर भत्ता वितरण गरिएको हो ।
गाउँपालिकाले वडा नं. १,२, ३ का लाभग्राहीलाई भने बैंक मार्फत नै सम्बन्धित व्यक्तिको खातामा भुक्तानी गरिएको छ ।
मेघा बैंक मार्फत १ हजार ४ सय ९७ र ग्लोवल आइएमई बैंक मार्फत १ हजार ५ सय ६५ जना लाभग्राहीलाई कुल दुई करोड ९८ लाख, २६ हजार ७ सय ९१ रुपैंया वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता वितरणको लागि वडा नं. ४ को देवगीर र सातमुले, वडा नं. ५ को वडा कार्यालय, वडा नं. ६ को गोठादी, वडा नं. ७ को रहवास र मटेरी, वडा नं. ८ को बहादुरपुर र ताकातुङ्गमा गएर वितरण गरिएको पञ्चिकरण इकाईका कर्मचारी पशुपती पन्थीले बताउनुभयो ।
पन्थीका अनुसार वडा नं. १ देखि ३ को ग्लोवल आइएमई बैंक मार्फत पाएक पर्ने स्थानबाट सम्बन्धित व्यक्तिले चाहेको समयमा निकाल्न मिल्ने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० ०८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय