पाल्पा - पाल्पाली स्रष्टा अग्रज लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र ‘परदेशी २’ देशभरका हलमा प्रदर्शनमा आएको छ ।
देश तथा विदेशका विभिन्न ठाउँसंगै पाल्पामा समेत खिचिएको चलचित्र तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि शुक्रवारबाट प्रदर्शनमा आएको छ ।
यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको तेस्रो चलचित्र ‘परदेशी २’ वडादशैंको अवसर पारेर देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । पाल्पाको माथागढी गाउँपालिकाको झडेवा, देवगीर, कसेनी, सराई लगायतका स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।
चलचित्र छायाँकनका क्रममा निर्देशक रायमाझीसहित अभिनेता प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, अभिनेत्री केकी अधिकारी लगायतका कलाकारहरु पाल्पा आउनुभएकाे थियाे ।
पाल्पाको झडेवामा जन्मिएका निर्देशक रायमाझीले आफ्ना यसअघिका दुई चलचित्र पनि पाल्पामा छायाँकन गर्नुभएकाे थियाे ।
ति दुवै चलचित्र देशभरसँगै तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि लामो समय प्रदर्शन भएका थिए । ‘परदेशी २’ पनि देशभरसँगै तानसेनमा समेत लामो समय चल्ने विश्वास निर्देशक रायमाझीले लिनुभएकाे छ ।
दर्शकहरुको रुचिलाई ध्यानमा राखेर सन्तोष चलचित्र मन्दिरमा यो चलचित्र दैनिक ३ शो प्रदर्शन हुने हलले जानकारी दिएको छ ।
बिहान ११ः१५ बजे, दिउँसो २ः१५ बजे र बेलुका ५ः१५ बजे चलचित्र प्रदर्शन हुने हलका संचालक सर्जुमान लिगलले जानकारी दिनुभएकाे छ । युवापुस्तामा रहेको विदेश मोह र त्यसले घरपरिवारमा पारेको प्रभावको कथामा ‘परदेशी २’ बनेको हो । नारायण रायमाझी र राजेश वंशल मिलेर चलचित्रको निर्माण गर्नुभएकाे हाे । यो चलचित्रमा केही पाल्पाली कलाकारहरु समेत देखिएका छन् । चलचित्र प्रदर्शनको समयमा पाल्पाली दर्शकलाई भेटन तानसेन आउने योजना समेत निर्देशक रायमाझीले बनाउनुभएकाे छ ।
गायनमा निकै रुचाइएका प्रकाश सपूतको पहिलो चलचित्र भएका कारण ‘परदेशी २’लाई निकै चासोका साथ हेरिएको छ । त्यसमाथि सफल चलचित्रको दोस्रो श्रृङखला, हिट चलचित्र दिएका निर्देशक, चलेका कलाकारहरुको अभिनय रहेका कारण ‘परदेशी २’ सुपरहिट हुने विश्वास लिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० १३:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय