Erani Mahal
गत वर्ष पाल्पाबाट ६३ कराेडकाे पशुजन्य पदार्थ निर्यात
Khasi_boka
तानसेन - पाल्पाबाट पशुजन्य बस्तु पदार्थको निर्यात बढ्दै गएको छ । गत आव २०७९/०८० मा पशुजन्य पदार्थको आयातभन्दा निर्यात चार गुणाले बढी रहेको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार पाल्पाबाट मासुका लागि खसी, बोका, पाडा, बङ्गुर, कुखुरा निर्यात हुने गरेको छ । यो परिमाण हरेक वर्ष बढ्दै गएको विज्ञ केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले बताउनुभयो । पाल्पामा मासुका लागि बाहिर जिल्लाबाट भित्रिने पशुजन्य पदार्थको तुलनामा चार गुणाले बढी बाहिरी जिल्लामा निर्यात हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत आवमा ६२ करोड ९५ लाख ६५ हजार बराबरको पशुजन्य पदार्थको निर्यात भएको छ । जबकी सोही वर्ष जिल्लामा १६ करोड १३ लाख ६० हजार मुल्यको पशुजन्य पदार्थ भित्रिएको छ । पाल्पामा पछिल्लो समय व्यवसायिक बाख्रापालन, पाडापालन, बङ्गुरपालन, कुखुरापालन बढेका कारण निर्यात बढ्दै गएको केन्द्रका पशु चिकित्सक नविन बस्यालले बताउनुभयो । पाल्पाबाट अण्डासमेत बाहिरी जिल्लामा निर्यात हुने गरेको छ । माछा र हाँस भने तराईका जिल्लाबाट आयात हुने गरेको बस्यालले बताउनुभयो । जिल्लाका लागि आवश्यक भन्दा बढी उत्पादन भएकाले दुध तथा मासुका लागि पशु बाहिरी जिल्लामा निर्यात भएको केन्द्रले जनाएको छ । पाल्पाका विभिन्न स्थानबाट गत वर्ष ५२ हजार ८७२ मेट्रिक टन दुध उत्पादन भएको थियो । जबकी पाल्पाका लागि वार्षिक २२ हजार पाँच सय मेट्रिक टन दुध आवश्यक छ । यस्तै पाल्पाका लागि वार्षिक तीन हजार ४३० मेट्रिकटन मासु आवश्यक भएपनि जिल्लामा वार्षिक उत्पादन १० हजार ३३३ मेट्रिकटन उत्पादन हुँदै आएको छ । कुखुराको अण्डा पनि पाल्पाका लागि आवश्यक भन्दा बढी उत्पादन भइरहेको विज्ञ केन्द्रका नासु युवराज ज्ञवालीले बताउनुभयो । बढी भएको अण्डा, मासु तथा दुध बाहिरी जिल्लामा निर्यात हुने गरेको उहाँको भनाई छ । बढी भएका दुध तथा मासुजन्य पदार्थ पाल्पाको सहकारीमार्फत बिक्री भइरहेको छ । मासुका लागि हाँस र माछा भने रुपन्देही, कपिलवस्तु जिल्लाबाट आयात हुने गरेको छ । जिल्लाका अधिकांश स्थानमा कृषि, पशु तथा दुग्ध सहकारीहरूमार्फत दुध र मासु निर्यात भइरहेको केन्द्रका प्रमुख खनालले बताउनुभयो । यस्ता सहकारीहरूको स्तरउन्नति र उत्पादनका आधारमा अनुदान समेत केन्द्रले दिएको उहाँले जानारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update