पाल्पा - औद्योगिक ग्राम निर्माणको काममा ढिलाई भएको छ । तानसेन र रामपुर नगरपालिकामा औद्योगिक ग्राम निर्माणमा ढिलाई भएको छ भने माथागढी र रिव्दीकोटमा औद्योगिक ग्राम निर्माणको काम सुरु नै भएको छैन ।
तानसेन नगरपालिकाले चार वर्षअघिदेखि सुरु गरेको औद्योगिक ग्राम निर्माणको कामलाई तीव्रता दिन सकेको छैन । आव २०७७/०७८ मा नेपाल सरकारबाट औद्योगिक ग्राम निर्माणका लागि ९२ लाख रुपियाँ बजेट प्राप्त भएपछि तानसेन नगरपालिकाले डिपिआरको काम अघि बढाएको थियो ।
डिपिआर पहिलो वर्ष नै बनेर सोही वर्षदेखि निर्माणको काम समेत अघि बढाएको तानसेनले रकम अभाव देखाउँदै ग्राम निर्माणमा ढिलाई गरिरहेको छ ।
चार वर्षअघि तानसेन–७ कुनसरेमा औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएको नगरपालिकाले अहिलेसम्म पहिलो वर्षको कामलााई सिध्याउन सकेको छैन । औद्योगिक ग्राम निर्माणको काम भएपनि कछुवा गतिमा भएको स्थानीय बासिन्दा बताउँछन् । औद्योगिक ग्राम बनाउन भन्दै रुख कटानका काम तीव्र गतिमा भयो तर रुख काटेपछि ग्राम निर्माणको काम कछुवा गतिमा भएको स्थानीय बासिन्दा रोमबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘औद्योगिक ग्रामको काम गर्न सुरु गरेको चार वर्ष भयो तर अहिलेसम्म तीनवर्षअघि सुरु गरेको काम सकिएको छैन ।’
औद्योगिक ग्रामको निर्माणको जिम्मा लिएको बसन्त निर्माण सेवाले अहिलेसम्म काम पूरा नगरेको नगरपालिकाले जनाएको छ । औद्योगिक ग्राम स्थलमा टेवा पर्खाल, जग्गा सम्याउने काम तथा वाल लगाउने काम अझै नसकिएको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उक्त कम्पनीसँग २०७८ साउन १ गते एक वर्षभित्र काम सक्ने गरी सम्झौता भएपनि ठेकेदारले अहिलेसम्म काम नसकेको उहाँले बताउनुभयो ।
औद्योगिक ग्राम निर्माणको काम रकम अभावले पनि ढिलाई भएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाले सात करोड बढीको औद्योगिक ग्राम निर्माण गर्ने विस्तृत योजना बनाएको छ । तर उक्त योजना सम्पन्न गर्न सङ्घीय सरकारबाट पर्याप्त बजेट नआउँदा योजनाको काममा ढिलाई भएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘औद्योगिक ग्राम बनाउन तानसेन नगरपालिकासँग पैसा छैन, सङ्घीय सरकारबाट कम आउदा यसको काममा ढिलाई भएको हो ।’
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय