पाल्पा – संविधान दिवसको अवसरमा तानसेनमा परिसंवाद कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा परिसंवाद कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य ठाकुर गैरेले संविधानको कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधानमा उल्लेख भएका जनताका अधिकारलाई व्यवहारमै उतार्नका लागि आवश्यक कानुन तत्काल निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरेले संविधान जारी भएको आठ वर्ष भएपनि कानुनको अभावमा संविधानको पूर्ण कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । उहाँले राजनैतिक स्थिरता र सुशासन कायम गर्न आवश्यक कानुन तत्काल निर्माण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
संविधानसभाका सदस्य लिला सोमैले महिला, दलित, उपेक्षित, सबै जाति र क्षेत्रको अधिकारलाई संस्थागत गर्नुको अर्को विकल्प नरहेको बताउनुभयो । संविधानसभा सदस्य नारायणी शर्माले संविधान देशको मूल कानुन भएकाले यही संविधानको आधारमा देशको समृद्धि सम्भव रहेको धारणा राख्नुभयो ।
संविधानसभा सदस्य तुल्सा रानाले केही असन्तुष्ट पक्षको माग सम्बोधन गरेर वर्तमान संविधानलाई पूर्ण बनाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य वीरबहादुर राना, खेमबहादुर सारुले संविधान अनुसार सबै तह र तप्काका नागरिक जिम्मेवार भएर संविधान र कानुनको कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाली काङ्ग्रेसका प्रतिनिधि शोभाखर न्यौपाने, एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, रास्वाका कार्यवहाक अध्यक्ष सुमन गैरे, नेकपा एकीकृत समाजवादीका सचिव माेहनलाल गैरे, राप्रपाका अध्यक्ष डुलबहादुर कुँवर, जनमोर्चाका प्रतिनिधि टिकाराम पौडेलले संविधानको कार्यान्वयनका लागि दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, बार एशोसिएसनका अध्यक्ष विनोद कार्की, व्यापार संघ पाल्पाका अध्यक्ष बामदेव बस्याल, नागरिक समाजका बुद्धिप्रसाद शर्माले नागरिकले चाहनाअनुसार संविधानको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, उपप्रमुख काशिका ज्ञवालीगैरेको स्वागत तथा समन्वय अधिकारी जनार्दन अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय