Erani Mahal
पाल्पामा तीजकाे नाच पछिकाे विवादले साथीकाे हत्या
hatya_photo
पाल्पा - पाल्पामा तीजकाे नाँच पछिकाे विवादले साथीकाे हत्या भएकाे छ । पाल्पामा आइतबार राति एक जनाको हत्या भएको छ । तिनाउ गाउँपालिका–२ कुसुमडाँडाका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताउनुभयाे । स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे ती युवक माथि धारिलो हतियार चक्कु प्रहार भएको थियो। गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीय महिला नाचिरहेका बेला ती युवाहरुबीच सामान्य झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको चन्दले बताउनुभयाे । हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको छ। गएराति तिजकाे रमाइलाे गर्ने क्रममा झगडापछि कुटपिट हुँदा स्थानीय २४ वर्षका सुनिल खत्रीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयाे । खत्रीकाे उपचारकाे क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा राति मृत्यु भएकाे हाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update