पाल्पा - जिल्लाको तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले बिशेष साधारणसभा डाकेको छ । समितिले नयाँ विधान पारित गरेर नयाँ समिति समेत बनाउने गरी तयारी थालेकाे छ ।
केही समयदेखि विवादमा रहेकाे तानसेन खानेपानी समितिले संशोधित विधान पास गर्नको लागि वृहत उपभोक्ता भेला डाकेको हो । तानसेनमा पत्रकार सम्मेलन गर्दै समितिले भेलाको तयारी पुरा भएको जानकारी दिएको छ । समितिका अध्यक्ष मोहन श्रेष्ठले आवश्यक प्रक्रिया पुरा गर्न ४ हजार ५ सय बढी सदस्यहरुको भेला डाकेको जानकारी दिनुभयो । श्रेष्ठले तदर्थ समितिले निर्वाचन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको भन्दै सुधार गर्न सकिने क्षेत्रलाई सुधार गर्दै पनि लगेको बताउनुभयो ।
समितिका सदस्य राधेश्याम ज्ञवालीले प्रस्तावित विधान तयार भएको र त्यसैलाई सदस्यहरुको सुझावका आधारमा पास गर्नको लागि वृहत भेला गर्न लागेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष भरत शर्माले पत्रकारहरुले समितिले गरेका राम्रा कामको समर्थन र सहयोग गरेको बताउनुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै समितिका अध्यक्ष श्रेष्ठले विधानमा महिलालाई ३३ प्रतिशत समितिमा सहभागिता सुनिश्चित गरेको बताउनुभयो । अन्य समुदायलाई आरक्षणको व्यवस्था अहिले सम्म नगरेको र विधान संशोधनको काम छलफलमै रहेको समेत उहाँले बताउनुभयो । उहाँले परिमार्जित विधान अनुसार नयाँ समिति समेत बन्ने बताउनुभयाे ।
यसैवीच तानसेन खानेपानी समितिमा दलितको आरक्षण सुनिश्चित गर्न दलित जनप्रतिनिधी जिल्ला समन्वय समिति पाल्पाले तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीलाई त्रापन पत्र बुझाएको छ ।
समितिका अध्यक्ष दिनेश गन्धर्वले समितिको विधानमा दलित सहभागिता सुनिश्चित नभएको भन्ने जानकारी पाएकाले समन्वयका लागि नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८० ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय