तानसेन – विपद्का घटनाबाट क्षति बेहोरेका परिवारले निजी आवास निर्माण गर्न अनुदान पाउने भएका छन् । जिल्लाका विभिन्न स्थानमा विपद्जन्य घटना बाढी, पहिरो, आगलागीबाट क्षति पुगेका ५७ घरपरिवारले निजी आवास निर्माण गर्न चार लाख अनुदान पाउने भएका हुन् । ।
जिल्लाको निस्दी गाउँपालिका–३, का १९ घरपरिवारले निजी आवास निर्माण गर्न निवेदन दिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।
विगत दुई वर्षअघि र यो वर्ष पहिरोले क्षति पु¥याएका १९ परिवारको निजी आवास निर्माणका लागि चार लाख अनुदान पाउने उहाँले जानकारी दिनुभयो । यस्तै तानसेन नगरपालिकाका २५, रामपुर नगरपालिकाका छ, रिव्दीकोट गाउँपालिकाका तीन र बगनासकाली गाउँपालिकाका चार परिवारलाई पनि निजी आवास निर्माण गर्न अनुदान पाउने प्रशासनले जनाएको छ ।
विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि–२०७८ अनुसार पीडित परिवारको विवरण अनलाइन इन्ट्री गरिएको प्रशासनले जनाएको छ । उक्त कार्यविधि अनुसार चार किस्तामा विपद्बाट पीडित परिवारले चार लाख रुपियाँ अनुदान पाउने प्रशासनका प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपाािलकाबाट १०, नगरपालिकाबाट १५, प्रदेशबाट ३० प्रतिशत र सङ्घीय सरकारबाट बाँकी रकम बेहोर्ने कार्यविधिमा उल्लेख छ । प्रदेश सरकारले दिने अनुदान रकम प्राप्त भइसकेको र अब अन्य निकायबाट रकम प्राप्त हुनासाथ लाभग्राहीसँग सम्झौता गरेर निजी आवास निर्माणको काम अगाडि बढाउने श्रेष्ठले जानकारी दिनुभयो ।
विपद्बाट बसाई सर्नुपर्ने, घरबारबिहीन हुने परिवारका लागि चार लाख रुपियाँ अनुदानले ठूलो राहत पुग्ने स्थानीय तहले बताएका छन् । यसअघि अनलाइनमा इन्ट्री नहुँदा पाल्पाका विपद् प्रभावित परिवारले निजी आवासका लागि अनुदान पाउन सकेका थिएनन् । विपद् प्रभावित परिवारले निजी आवास बनाउन चाहेमा निवेदन दिएपछि राहत रकम पाउने तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो ।
आवास निर्माणको अनुदान रकमबाट विपद्बाट बिस्थापित हुने परिवारलाई ठूलो राहत पुग्ने र उनीहरू सुरक्षित रुपमा पुनस्र्थापित हुने उहाँले बताउनुभयो । यो वर्ष विपद्का घटनाबाट घरमा क्षति पुगेर बिस्थापित भएका माथागढी, पूर्वखोला, रम्भा, तिनाउ, रैनादेवी छहरा गाउँपालिकाका पीडित परिवारको भने अनलाइनमा विवरण इन्ट्री गर्ने कार्य कारितास नेपालका कार्यक्रम संयोजक हरिष कुँवरले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० २०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय