Erani Mahal
पूर्वखोलाले  ४० लाख ९९ हजार बजेट कृषि क्षेत्रमा विनियोजन
purbakhola-vcd
पाल्पा - पूर्वखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ४० लाख ९९ हजार बजेटबाट कृषि क्षेत्रमा काम गर्ने जनाएको छ । गत वर्ष सुरु भएको सुन्तलाजात फलफूल विकास पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष अन्य कार्यक्रमहरुका लागि बजेट विनियोजन गरेको छ । यस आर्थिक वर्षमा गाउँपालिकाले सुन्तलाजात फलफूल विकास पकेट कार्यक्रमका लागि ६ लाख रुपौयाँ विनियोजन गरेको कृषि शाखा प्रमुख सन्तोष कंडेलले जानकारी दिनुभयो । कृषि शाखा प्रमुख कंडेलका अनुसार यस वर्ष तोरी खेती विस्तार कार्यक्रमका लागि एक लाख ५० हजार, उन्नत प्रविधि हस्तान्तरण तथा नमूना फार्मका लागि तिन लाख, व्यवसायिक कृषक तरकारी बीउ वितरणमा दुई लाख, कन्ये च्याउको बीउ वितरणमा एक लाख ५० हजार, सिटाके च्याउको बीउ वितरणमा ५० हजार बजेट विनियोजन गरिएको छ । यसका साथै आकस्मिक वाली उपचार, विषादी व्यवस्थापनमा ५० हजार र सुन्तलाजात फलफूल बगैँचा व्यवस्थापन क्षेत्र विस्तारका लागि तीन लाख गरी कूल ३० लाख बजेट विनियोजन गरिएको कृषि शाखा प्रमुख कंडेलको भनाइ छ । उहाँका अनुसार गाउँपालिकाको पूँजीगत बजेट अन्तरगत कृषि क्षेत्रमा यस आर्थिक वर्षका लागि ३ दशमलव शून्य ८ प्रतिशत रकम विनियोजन भएको छ । यस्तै गाउँपालिकामा यस वर्ष कृषि क्षत्रेमा प्रदेश सर्शत कार्यक्रम अन्तरगर्त प्रदेश कृषि पशुपंक्षी विकास कार्यत्रलम अनुगमन तथा समन्वयका लागि एक लाख, बाली कटानी तथा तथ्याकं अध्यावधिकका लागि ५० हजार बजेट छ । संघीय सर्शत कार्यक्रम अन्तरगत किसान सूचिकरणका लागि दुई लाख ४९ हजार बजेट रहेको सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले वडागत रुपमा पनि कृषि कार्यक्रमहरु सञ्चालन हुने बताउनुभयो । यसका साथै साझेदारीमा समेत काम हुने भएकोले प्रतिशत कम देखिएपनि कृषि क्षेत्रमा गाउँपालिकाको लगानी राम्रो रहेको बताउनुभयो । पूर्वखोला गाउँपालिकाको कुल जनसंख्या १६ हजार ५२ रहेको छ । जसमा करिब १३ हजार ६ सय ४४ अर्थाथ ८४ दशमलव ९ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । गाउँपालिकाको १४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा ३ हजार ४ सय ५ हेक्टर अर्थात २३ दशमलव ८ प्रतिशत जमिनमा कृषि खेती हुँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update