पाल्पा - तानसेन नगरपालिकाले जलबायु परिवर्तन कारण हुनसक्ने सम्भाव्य विपद् व्यवस्थापनका लागि आवश्यक बजेट विस्तारै वृद्धि गर्दै लगेको जनाएको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक २०८०/८१ मा १० लाख रुपैयाँ वृद्धि गरेको छ । तानसेन नगरपालिकाको कुल जनसंख्या करिब ५५ हजार बढी छ । जसमध्ये अधिकांश नागरिक खेती किसानीमा आबद्ध रहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनको असर पनि कृषि क्षेत्रमा सबैभन्दा धेरै देखिन थालेको भएपनि स्थानीय सरकारले यस विषयमा गर्दै आएको कामबाट स्थानीयवासी खासै सन्तुष्ट छैनन् ।
समयमा वर्षा नहुँदा समयमै बाली लगाउन नपाइने, जसले गर्दा उत्पादनमा कमि हुने समस्या बढेको छ कृषकहरुको भनाइ छ । यस्तो समस्या न्यूनीकरणका लागि अनुकूलनका योजनामा चासो दिएर स्थानीय सरकार अगाडि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको कृषक सबिता भट्टराईको गुनासो रहेको छ ।
तानसेन नगरपालिकाले भने जलबायु परिवर्तन कारण नगरवासीलाई पर्ने समस्या न्यूनीकरणका लागि आर्थिक तथा जनचेतना जगाउने गतिविधि विस्तारै बढाउँदै लगेको जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तन, विपद् व्यवस्थापनका लागि मात्रै ३० लाख बजेट छुट्याएको छ ।
विपद् व्यवस्थापन कोषमा ३० लाख र वातावरण संरक्षण कोषमा ५ लाख गरी ३५ लाख बजेट विनियोजन गरेर काम भैरहेको तानसेन नगरपालिकाका नगर उपप्रमुख प्रतिक्षा सिंजालीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्का कार्यक्रम गतवर्ष देखि नै निरन्तर हेर्दै आएको र बाढी, पहिरोले क्षति पुगेका घरहरूको अवस्था हेरेर तल्काललाई पाँच हजार देखि दश हजार सम्म राहत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा पनि १५ जनाले नगरपालिकाबाट राहत लिइसकेको नगरपालिकाले जनाएको छ ।तानसेन नगरपालिकाले गतवर्ष जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा २० लाख रकम छुट्टाएको थियो । जलवायु परिवर्तनले देखा पर्ने असरलाई न्यूनीकरण गर्न अनुकूलन हुने योजना स्थानीय सरकारले ल्याउनुपर्ने माग नगरवासीको छ । तर जनाताको माग अनुसार नगरपालिकाले सहयोगी काम गर्न सकेको छैन ।
तानसेन नगरपालिकाका विपद् व्यवस्थापन फोकल व्यक्ति वरिष्ठ अधिकृत विष्णु पौडेलले जलवायु परिवर्तन देशभरकै समस्या हुँदा यसको निराकरणको लागि नगरपालिका मात्र लागेर नहुँने बताउनुभयो । उहाँले सक्ने प्रयास नगरपालिकाले गरेको बताउदै तत्काल राहत र उद्दारका लागि बजेट व्यवस्थापन गरेको दावी गर्नुभयो ।
तानसेन नगरपालिकाले विपद्सँग जोडेर बजेट ल्याए पनि जलवायु परिवर्तनको असर न्यूनिकरण र सामनाका लागि छुट्टै शीर्षकमा बजेट व्यवस्था गरेको छैन । ३५ लाख रुपैयाँबाट चालु आर्थिक वर्षमा वृक्षरोपण, वातावरण सरसफाई, जनचेतनामूलक कार्यक्रम लगायतका जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रम गर्ने योजना तानसेन नगरपालिकाको रहेको जनाएको छ । जसका लागि करिब पाँच लाख रुपैयाँ खर्चगर्ने योजनामा नगरपालिका रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय