Erani Mahal
रिब्दीकोटका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा
IMG_6695-696x464
पाल्पा – जिल्लाको रिब्दीकोट गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक बर्ष ०७९/८० को वार्षिक समिक्षा सम्पन्न गरेको हो । समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले कोभिड महामारी लगाएत विभिन्न जटिल परिस्थितिमा गाउँपालिकाका स्वास्थ्यकर्मीले राम्रो काम गरेको बताउनुभयो । न्यौपानेले स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दा कोही पनी सेवाग्राही वञ्चित नहुने गरि लाग्नुपर्ने बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृट टुक प्रसाद पाेखरेलले रिब्दीकोटका स्वास्थ्य संस्थाहरुको गतिविधि विश्वसनिय र सेवाग्राहीप्रति प्रभावकारी रहेको बताउनुभयो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत सुनिल अधिकारीले रिब्दीकोटमा नागरिक मैत्री स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो । रिब्दीकोट गाउँपालिकामा मापदण्ड बमोजिमका ६ वटा स्वास्थ्य संस्थाका भवन रहेका छन् । ७२ जना स्वास्थ्य स्वयम्सेविका रहेको पालिकामा २८ वटा खोप केन्द्र रहेको छ भने २१ स्थान बाट गाउँघर क्लिनिक सञ्चालन भईरहेको छ । रिब्दीकोटमा ५ वटा वर्थिङ सेण्टर, ३ स्थानमा सुरक्षित गर्भपतन सेवा, ३ स्थानमा ईम्प्लाण्ट सेवा, ३ स्थानमा आईयूसिडि, ८ स्थानमा डट्स सेण्टर र एक वटा ल्याब सेवा सञ्चालनमा रहेको स्वास्थ्य शाखाले जनाएको छ । ४५ जना स्विकृत दरबन्दी रहेको रिब्दीकोट स्वास्थ्य शाखामा ३१ जना करार बाट पुर्ती गरिएको छ । रिब्दीकोटमा स्विकृत दरबन्दी भन्दा धेरै स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् । कर्मचारी अभावले कुनैपनि सेवा रोकिन नपरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो । रिब्दीकोटमा ईओसी फण्ड स्थापना तथा सञ्चालन, कार्यसम्पादनको आधारमा उत्कृष्ठ कर्मचारी चयन र सेवाग्राही सन्तुष्टि सर्वेक्षण भने हुन सकेको छैन । नेपाल सरकारबाट निशुल्क उपलब्ध हुनुपर्ने धेरैजसो औषधी उपलब्ध भएको स्वास्थ्य शाखाले जनाएको छ । समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकमा सेवा लिनेको संख्या बढ्दो हुनु खुसीको कुरा भएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले रिब्दीकोटका सरकारी स्वास्थ्य संस्थाहरुप्रती नागरिकको विश्वास बढ्दै गएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक सुनिल बस्यालले रिब्दीकोटका नागरिकलाई जटिल प्रकृतिका बाहेक अन्य समस्या लिएर अन्यत्र अस्पताल जान नपर्ने गरि स्वास्थ्य संस्थाले सेवा दिईरहेको बताउनुभयो । कार्यक्रममा पालिकाका सबै स्वास्थ्य संस्थाहरुले आआफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update