Erani Mahal
माथागढी झडेवाको रत्न प्राविद्वारा दीर्घसेवारत शिक्षकको विदाई
368789754_680946100560131_4541072269042246955_n
पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ ज्यामिरेमा रहेको रत्न प्राथमिक विद्यालयले दीर्घसेवारत शिक्षकहरुको विदाई गरेको छ । विद्यालयमा तीन दशक बढी सेवा गरेर सेवा निवृत्त हुनुभएका पूर्व प्रधानाध्यापक अच्यूतराज नेपाल र शिवजंग रायमाझीलाई एक कार्यक्रम गरेर विदाई गरेको छ । कार्यक्रमका प्रमुख अथिथि माथागढी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष शंकर दर्लामीले विद्यालयमा दीर्घ सेवा मार्फत राष्ट्र निर्माणको लागि दक्ष जनशक्ति उत्पादनमा शिक्षकले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँहरुको योगदानको प्रशंसा गर्नुभयो । उहाँले विद्यालय सेवा बाहिर रहेर समेत समाज रुपान्तरण र गाउँको शैक्षिक विकासमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले पालिकाले शिक्षाको विकासको लागि प्रविधिमैत्री र नयाँ युग सुहाउने शिक्षाको विकासको लागि कामको सूरुवात स्वरुप विद्यालयमा इन्टरनेट जडान र कम्प्यूटर प्रदान गरिएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका शिक्षा सहायक अमृत अधिकारीले सीमित स्रोत र साधनलाई उच्चतम प्रयोग गरी शैक्षिक गुणस्तर कायम गर्न विद्यालयलाई सुझाव दिनुभयो । बढ्दो बसाई सराई र न्यूनजन्मान्तरको कारण विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको बताउँदै उहाँले मौजुदा विद्यार्थीलाई अधिकम गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको मन जित्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय शिक्षा सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीको तालमेल भएमा सार्वजनिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गराउन सक्ने बताउनुभयो । विद्यालयको समस्या समाधानको लागि मागको आधारमा पालिकाले योजना बनाएर कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा पूर्व प्रअ अच्यूतराज नेपालले विद्यालयमा लामो सेवा पश्चात शैक्षिक विकासमा आफूले केही भएपनि सहयोग गरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले सेवा निवृत्त पश्चात विद्यालयमा २० हजार राशीको अक्षयकोषको समेत घोषणा गर्नुभयो । अर्को प्रअ शिवजंज रायमाझीले आफूहरुले विद्यालयको अहिलेको अवस्थासम्म आउन धेरै मेहनतको साथमा समुदायको सहयोग सदैव स्मरणीय रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक मोहन बहादुर जिसीले विद्यालयलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं आगामी दिनमा समेत शैक्षिक गुणस्तर खस्कन नदिने गरेर काम गर्ने बताउनुभयो । यसैविच विद्यालयमा नयाँ नियुक्त शिक्षक दिलिप जिसीलाई समेत स्वागत गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update