पाल्पा – युट्युबको सहायताबाट पाल्पाका एक युवाले ड्रागर फ्रुटको खेती गर्नुभएको छ । जिल्लाको माथागढी–१, फेँदीका युवा मनु आलेले युट्युब हेरेर ड्रागन फ्रुट खेती गर्नुभएको छ । यसको खेतीबाट उहाँलाई राम्रो फाइदा भएको छ ।
ड्रागन फ्रुटको बारेमा युट्युबबाटै जानकारी लिएर अहिले पाँच सय बिरुवा लगाएको उहाँले बताउनुभयो । तीन वर्षअघिदेखि विनातालिम आलेले यसको खेती सुरु गरेको उहाँले बताउनुभयो । ड्रागन फ्रुटको बारेमा थाहा पाएपछि आफूले युट्युबमा खोजी गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो जग्गा भएपछि कहाँ–कहाँ लगाउन सकिन्छ भन्ने खोजि गरेर तीन रोपनी जग्गामा ड्रागन फ्रुटको खेती सुरु गरेँ ।’
आलेले ड्रागन खेतीका लागि पोल, बिरुवा, मल तथा सिंचाई सुबिधाका लागि पहिलो वर्षदेखि हालसम्म चार लाख लगानी गरेको बताउनुभयो । त्यसपछि दोस्रो वर्षदेखि आफूले आम्दानी लिन थालेको र गत वर्ष साढे तीन लाख रुपियाँको फल बिक्री गरकोे बताउनुभयो । यो वर्ष पाँच लाखको फल बिक्री गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । यो वर्ष साढे दुई क्वीण्टल ड्रागन फ्रुटको दाना बजारमा बिक्री गरिसकेको आलेको भनाई छ । बजारमा यसको बिक्रीका लागि अहिलेसम्म कुनै समस्या नभएको आले परिवारको भनाई छ ।
सेतो ड्रागन फुटको प्रतिकिलो छ सय रुपियाँ र रातोको प्रतिकिलो साढे सात सय रुपियाँमा बिक्री भइरहेको छ । पाल्पामा आफूले पहिलो पटक यसको खेती गरेको आलेले दावी गर्नुभयो । उहाँले थप्नुभयो, ‘मैले पहिलो पटक यसको खेती गर्दा कसैले पनि गरेको थाहा पाएको थिएन, अहिले दुई÷तीन स्थानमा खेती गरेको थाहा पाएको छु ।’
वर्षमा पाँच÷छ लट यसको फल निकाल्न सकिने मनुका बुवा सोमबहादुरले बताउनुभयो । ड्रागन फ्रुट खेतीका लागि छोरालाई आफूले सघाउने बुवा सोमबहादुरले बताउनुभयो । आलेको फर्ममा अहिले १२५ वटा पोलमा पाँच सय बढी बिरुवा छन् । ड्रागन फ्रुटले जेठ असारदेखि असोज कात्तिकसम्म फल दिने गरेको छ ।
अरु खेतीलाई जस्तो ड्रागन फ्रुटलाई मिहिनेत पनि धेरै गर्न नपर्ने आले परिवारको भनाई छ । एक पटक लगाएको राम्रो बिरुवा २०/२५ वर्ष यसले फल दिने मनुको भनाई छ । तराईका जिल्लामा फलेको फलभन्दा यहाँ आफूले उत्पादन गरेको फल स्वादिलो र रसिलो हुने गरेको उहाँले बताउनुभयो ।
यसको खेतीका लागि हालसम्म आफूले कुनैपनि निकायसँग सहयोग नलिएको आले परिवारको भनाई छ । यही खेतीबाट राम्रो फाइदा भएपछि आफू विदेश नगएको उहाँले बताउनुभयो । स्वास्थ्यका लागि पनि यो फलको सेवन राम्रो हुने उहाँको भनाई छ । जिल्लामा कुनै पनि सरकारी निकायले यसको खेतीबाट भने अध्ययन् र लगानी गरेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय