Erani Mahal
दिवा खाजाको रकम भुक्तानी कम हुँदा समस्या
nisdi-photo-1290x968
पाल्पा – दिवा खाजावापतको रकम पूरै भुक्तानी नपाएपछि पाल्पाका अधिकांश विद्यालयहरूले आगामी दिनमा दिवा खाजा कसरी खुवाउने भन्नेमा चिन्तित बनेका छन् । गत आवमा दिवा खाजावापतको सबै रकम भुक्तानी नपाएपछि उनीहरू खाजा खुवाउने कि नखुवाउने भन्ने अलमलमा परेका छन् । पाल्पाका अधिकांश विद्यालयले गत आव २०७९÷०८० देखि नै कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवा खाजा खुवाएका थिए । तर आर्थिक वर्षको अन्तमा रकम कटौती भएर भुक्तानी आएपछि अबका दिनमा खाजा खुवाउने कि नखुवाउने भन्नेमा अलमलमा परेको ती विद्यालयहरूले गुनासो गरेका छन् । सङ्घीय सरकारबाटै दिवा खाजा वापतको रकम कम आएकाले कटौती गरेर विद्यालयहरूलाई रकम भुक्तानी गरेको पालिकाका शिक्षा शाखाले जनाएका छन् । अधिकांश पालिकामा तीन देखि दश लाखसम्म कम अनुदान आएको र विद्यालयलाई दिने रकममा कटौती गरेको तानसेन नगरपालिकाका शिक्षा शाखाकी अधिकृत कोपिला न्यौपानेले बताउनुभयो । पालिकाले नै विद्यालयलाई दिवा खाजावापतको रकम कम भुक्तानी गरेपछि विद्यालयलाई तिर्नुपर्ने दायित्व थपिएको दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने भनेर सर्कुलर आएपछि सोही अनुसार दिवा खाजा खुवाइयो तर दिवा खाजावापत विद्यालयलाई आउनुपर्ने भुक्तानी आएन । अब विद्यालयले यो भुक्तानी कहाँबाट तिर्ने ?’ दिवा खाजावापतको सबै रकम भुक्तानी नहुँदा विद्यालयहरूले आर्थिक दायित्व बोक्नुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयमा एक देखि तीन लाखसम्म खाजाको भुक्तानी दिनुपर्ने रकम दायित्व थपिएको छ । अहिले वर्षे विदाले बन्द भएका पाल्पाका विद्यालयहरू साउनको दोस्रो सातादेखि खुल्ने तयारीमा छन् । तर अब विद्यालय खुलेपछि कक्षा ६ का विद्यार्थीहरूलाई दिवा खाजा खुवाउन नसक्ने विद्यालयहरू बताउँछन् । दिवा खाजा वापतको रकम भुक्तानी नआएपछि विद्यालयहरू खाजा खुवाउने अवस्थामा नरहेको जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिवा खाजावापतको रकम असार मसान्तसम्ममा भएपनि आउछ भन्ने सबै विद्यालयहरू ढुक्क थिए तर रकम नआएपछि अब माथिल्लो कक्षालाई दिवा खाजा खुवाउने अवस्था छैन ।’ दिवा खाजा खान नपाउँदा विद्यार्थी र अभिभावकलाई समेत मनोवैज्ञानिक रुपमा नकारात्मक असर गर्ने शिक्षकहरू बताउँछन् । सरकारले दिवा खाजावापतको रकम कटौती किन भयो भनेर उचित जवाप दिन नसकेका कारण अभिभावक असन्तुष्ट रहेको उनीहरू बताउँछन् ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update