पाल्पा – तानसेनस्थित मिसन अस्पतालले वीमा कार्यक्रम अन्तगर्तको स्वास्थ्य उपचारलाई अहिलेसम्म निरन्तरता नदिने पक्षमा रहेको छ । गत साउन १२ गते पत्रकार सम्मेलनमार्फत मिसन अस्पतालले वीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा साउन २१ गतेदेखि स्थगित गर्ने घोषणा गरेको थियो ।
यो घोषणासँगै जिल्लामा एक खालको तरङ्ग उत्पन्न भएको थियो । लगत्तै जिल्लास्थित राजनैतिक दल तथा प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरू, पूर्व सांसदलगायतले स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिन पहल थालेका थिए । उक्त पहल अन्तर्गत वीमा बोर्ड, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालयसम्म यो विषयमा कुरा पुगेको छ । यद्यपी अहिलेसम्म ठोस निर्णय के भयो भन्ने जानकारी आएको छैन । हालसम्म मिलन अस्पताल भने पहिलेको निर्णयमा अडिग रहेको जनाएकाे छ ।
जिल्लास्थित राजनैतिक दलका नेता तथा सांसदहरूले भने वीमा कार्यक्रम मिसन अस्पतालले सञ्चालन गर्ने सहमति भएको उल्लेख गरेका छन् । तर वीमा सेवा अन्तर्गत सरकारले दिने रकम निकै कम भएको भनेर वीमा सेवा सञ्चालन नगर्ने घोषणा गरेको मिसन अस्पताल पूर्ववत निर्णयमा अडिग रहेको जनाएको छ । उसले वीमा बोर्ड, पाल्पाका सांसद, दल तथा अन्य निकायसँग छलफल भएपनि वीमा अन्तर्गतको सेवा सञ्चालन गर्नेभन्ने बारेमा थप निर्णय नभएको बताएको छ । बिहीबार रातिसम्ममा थप कुनै पनि निर्णय नभएको र पूर्ववत निर्णयमा आफूहरू अडिग रहेको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयो ।
अस्पतालका निर्देशक डा. रचेल कारखले पनि वीमा बोर्डलगायतसँग छलफल भएपनि वीमा कार्यक्रम सञ्चालन गर्नेबारे अहिलेसम्म थप निर्णय हुन नसकेको बताउनुभयो । उहाँले आफ्नो टीमसँग बसेर थप छलफल भएपछि बताउन सकिने अरु कुरा अहिले नभन्ने बताउनुभयो ।
केहीदिनअघि मिसन अस्पतालले वीमा बोर्डले बिरामीको उपचार गरेवापतको रकम समयसापेक्ष परिवर्तन गर्न नसकेकोे र दावी गरिएको रकममा समेत बोर्डले रकम कटौती गरेकाले वीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । मिसन अस्पतालले वीमा बोर्डको व्यवहारबाट पूरै अस्पताल डुब्न लागेको बताएको थियो ।
अस्पताल स्रोतले भने बोर्डबाट कुनै लिखित निर्णय नआउँदासम्म र पुराना बाँकी कटौती गरेका रकम उपलब्ध नहुँदासम्म वीमा कार्यक्रमलाई निरन्तरता नदिने अडान लिएको छ । तर बोर्ड र मिसन अस्पतालसँग भएको असमझदारी नीतिगत भएकाले यसको नितीगत निर्णय नहुँदासम्म समस्या भइरहेको स्रोतले उल्लेख गरेको छ । अस्पतालले बैठक बसेर मात्र थप निर्णय गर्ने जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० २२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय