Erani Mahal
पाल्पामा राहदानी बनाउने तीन गुणाले बढे
new-bawan-of-jilla-prasasan-1000x642
तानसेन – अघिल्लो वर्षको तुलनामा गत आव २०७९/०८० मा राहदानी बनाउनेको सङ्ख्या तीन गुणाले बढेको छ । आव २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट चार हजार ४३१ ले राहदानी बनाएका थिए भने गत आव २०७९/०८० मा १२ हजार ८२३ जनाले राहदानी बनाएका हुन् । ६ कराेड ९६ लाख आम्दानी : गत आव २०७९/०८० मा राहदानीबाट ६ करोड ९६ लाख १० हजार दुई सय रुपियाँ राजश्व सङ्कलन गरेको छ । प्रशासनले दु्रतसहित विद्युतीय राहदानी सेवाबाट झण्डै सात करोड राजश्व सङ्कलन गरेको हो । आव २०७८/०७९ को तुलनामा गत आव २०७९/०८० मा चार करोड ३४ लाख बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो । प्रशासनले दुई वर्षअघि ४८१ वटा एमआरपी पासपोर्टको द्रुत सिफारिस गरेको थियो भने गत आवमा ४९१ वटा सिफारिस गरेको सहायक प्रजिअ रानाले बताउनुभयो । प्रशासनले आव २०७८/०७९ मा १४९ वटा नाबालिक परिचयपत्र जारी गरेको थियो भने गत आव २०७९/०८० मा ३२४ वटा सिफारिस गरेको जनाएको छ । यस्तै दुई वर्षअघि वंशजको आधारमा १२ हजार १४९ वटा नागरिकता जारी गरिएको थियो भने गत आवमा ११ हजार १३४ वटा जारी गरिएको थियो । प्रशासनले गत आवमा जम्मा एक वटा मात्र वैवाहिक अङ्गीकृत नागरिकता जारी गरेको छ भने दुई वर्षअघि छ वटा जारी गरेको प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले जानकारी दिनुभयो । गत वर्ष प्रशासनले के-के ग-याे ? दुई वर्षअघिको तुलनामा गत वर्ष राष्ट्रिय परिचयपत्र सङ्कलनको काम भने न्युन भएको छ । आव २०७८/०७९ मा ४२ हजार २९६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको थियो भने गत आव २०७९/०८० मा १८ हजार २८६ जनाको मात्र सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । प्रशासनले गत आवमा विपद्मा परेका नागरिकलाई दुई करोड ३५ लाख २१ हजार ५६५ रुपियाँ राहत रकम वितरण गरेको जनाएको छ । यस्तै संयुक्त बजार अनुगमन १६ पटक, कार्यालय अनुगमन २० पटक र सङ्घसंस्थाको अनुगमन २३ पटक गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । विपद् सम्बन्धी काम : प्रशासनले गत आवमा विपद्का घटना न्युनीकरणका विभिन्न क्रियाकलाप, प्रभावकारी बजार अनुगमन, लागूऔषध न्युनीकरण गर्न सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । यस्तै खाद्य आपूर्ति तथा बजार व्यवस्थापनका लागि अनुगमन, नवप्रवर्धनात्मक अन्तर्गतका विभिन्न क्रियाकलापहरू गरेको प्रजिअ बास्तोलाले बताउनुभयो । याेजना कार्यान्वयनका लागि समन्वय बैठक : उहाँका अनुसार रुग्न आयोजना समयमै सम्पन्न गर्न सर्वपक्षीय बैठक, राहदानी सेवा सहज बनाउन काउण्टर स्थापना, सरकारी कार्यालयको सेवाप्रवाहलाई प्रभावकारी बनाउन पहल गरिएको छ । कार्यालयको सेवा सेवाग्राहीमैत्री बनाएको, हेल्प डेस्क स्थापना गरेको, दरबार सङ्ग्राहलय परिसरका टहरा भत्काउन समन्वय गरेको प्रशासनले मुख्य उपलब्धीका रुपमा औल्याएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update