पाल्पा - नेपाल विद्युत् प्राधिकरणले देशभर झण्डै एक लाख बिरूवा राेपण गरेकाे छ । प्राधिकरणको ३८ औं वार्षिकोत्सवका देशभरका शाखा, उपशाखा तथा वितरण केन्द्र परिसर तथा वरपरकाे क्षेत्रमा वृक्षाराेपण गरिएकाे हाे ।
नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले कार्यालय परिसरमा एक सय बढी बिरुवा कार्यालयमा रोपेको छ । पाल्पा वितरण केन्द्र, बतासे, सिलुवा, रुप्से सब–स्टेसनका साथै हार्थोक र आर्यभन्ज्याङ महसुस काउन्टर परिसरमा बिरुवा रोपेको हो ।
वातावरण सुधार्ने योजनाअनुसार यस वर्षदेखि वृक्षारोपण अभियान सुरु गरेको प्राधिकरणले जनाएको छ । सोहीअनुसार पाल्पा वितरण केन्द्रले पनि आफ्नो कार्यक्षेत्र रहेका कार्यालय परिसरमा बिरुवा रोपेको हो । कार्यालय परिसरमा आँप, सुन्तला, लिची, तेजपात, कटहरलगायत विभिन्न प्रजातिका बिरुवा रोपेको पाल्पा वितरण केन्द्रका प्रमुख विवेक अधिकारीले बताउनुभयाे ।
विद्युत्को पोल र तार टाँग्ने स्थलमा प्राधिकरणले रुख कटान गर्नुपर्ने हुन्छ । त्यसको बदलामा कार्यालय परिसरमै विभिन्न प्रजातिका रुख रोप्दा पनि वातावरणलाई फाइदा पुग्ने भएकाले यो अभियान थालिएको बताउनुभयाे । मुलुकभरका वितरण केन्द्र, सब–स्टेसनलगायतमा बिरुवा रोप्दा सयौं रुख बिरुवा एकै पटक रोपिने भएकाले यस वर्षबाट अभियानको थालनी गरिएको केन्द्रका प्रशासन प्रमुख भागीरथ बस्यालले बताउनुभयाे ।
वृक्षारोपण कार्यक्रममा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । पाल्पा शाखा प्रमुख अधिकारीले पाल्पामा ९० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको सोही अवसरमा जानकारी दिए । चालु आर्थिक वर्षमा शत प्रतिशत विद्युत् सेवा विस्तार हुने जानकारी दिनुभयाे ।
वार्षिकोत्सवको अवसरमा प्राधिकरणले मुलुकभरका सबै कार्यालय परिसरमा विभिन्न प्रजातिका कम्तीमा सय बिरुवा लगाउन निर्देशन दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० ०९:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय