पाल्पा – तानसेन नगरपालिकाले ऋणीहरूलाई समयमै साँवा र व्याज भुक्तानी गर्न आग्रह गरेको छ । केही सहकारी संस्थाका ऋणीहरूले लामो समयदेखि साँवा र व्याज भुक्तानी नगर्दा सहकारीहरूमा विभिन्न खालको समस्या देखिएको हुँदा ऋणीहरूलाई तत्कालै साँवा र व्याज भुक्तानी गर्न नगरपालिकाले आग्रह गरेको हो ।
ऋणीहरूले समयमै व्याज तथा साँवा भुक्तानी नगरे तानसेन नगरपालिकाको सहकारी ऐन २०७४ अनुसार ऋणीको जायेजेठाबाट अशुलउपर गर्ने व्यवस्था रहेकाले ऋणीहरूलाई साँवा र व्याज भुक्तानी गर्न नगरपालिकाले आग्रह गरेको हो । सहकारीका ऋणीहरू समयमा साँवा र व्याज भुक्तानी नगर्दा बचतकर्ताको भुक्तानीमा समस्या भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले सहकारीले पटक–पटक साँवा र व्याज भुक्तानीका लागि ऋणीहरूलाई गरेको आग्रहलाई ऋणीले अटेर गरेको बताउनुभयो । सहकारीको आग्रह र ताकेतालाई सामाजिक सञ्जालमा पैसा तिर्दिन भनेर भनेकोप्रति गुनासो आएकाले यस्तो आग्रह गर्नुपरेको थापाले बताउनुभयो । सहकारी संस्थाबाट ऋण लिएर पनि नतिर्ने मनसाय भएपनि त्यस्ता व्यक्तिहरूले उन्मुक्ति नपाउने थापाले बताउनुभयो ।
तानसेनमा हाल ५३ वटा सहकारी संस्थाहरू रहेका छन् । तीमध्ये एक वटा सहकारी संस्था समस्याग्रस्त रहेको र अन्य छ वटा सहकारी संस्थाहरू अनियमित रहेको नगरपालिकाले जनाएको छ । समस्याग्रस्त सहकारी र अनियमित सहकारी संस्थाहरूलाई नियमित बनाउने कार्य सुरु गरिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । यसरी समस्यामा परेका सहकारी संस्थाहरूमा अधिकांश उत्पादनमुलक र बजार व्यवस्थापनका लागि खुलेका सहकारीहरू रहेका छन् ।
यी सहकारीबाहेक अन्य सहकारीहरू पनि पछिल्लो समयमा समस्यामा परेको गुनासो आएको छ । यद्यपी तानसेन नगरपालिकाले बाहिर बजारमा सहकारीको विषयमा गुनासो आएपनि आधिकारिक रुपमा कुनै पनि सेयर सदस्य, वचतकर्ता तथा ऋणीले निवेदन नदिएको नगरपालिकाका बरिष्ठ अधिकृत थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य सहकारी संस्थाका कुनै पनि ऋणीका बारेमा गुनासो आएको छैन, सहकारीहरूलाई आउने चुनौतीका बारेमा सचेत रहन आग्रह गरिएको छ ।’
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० २१:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय