पाल्पा – तानसेनको मिसन अस्पतालले स्वास्थ्य वीमा अन्तर्गतको उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको छ । अस्पतालले स्वास्थ्य वीमा बोर्डबाट लामो समयसम्म भुक्तानी नपाएको, सेवावापत वीमा बोर्डले दिने रकम समयअनुकुल परिमार्जन नभएको र दावी भुक्तानी गरेअनुसारको रकम नपाएको भन्दै वीमा अन्तर्गतकाे उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको हो ।
अस्पतालले आगामी साउन २१ गतेदेखि स्वास्थ्य वीमा गरेवापत बिरामीले पाउने उपचार तथा अन्य सुबिधा नदिने निर्णय गरेको जनाएको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलनमार्फत वीमा सेवा सञ्चालन गर्ने चाहना हुँदाहुँदै पनि स्थगित गर्न बाध्य भएको जनाएको छ ।
अस्पतालमा आउने बिरामीलाई वीमा सेवा अन्तर्गतको उपचार सुबिधा दिने चाहना हुँदाहुँदै पनि अस्पताल बचाउने उद्देश्यले सेवालाई निरन्तरता दिन नसकेकाे अस्पतालकी निर्देशक डा. रचेल कारखले बताउनुभयो । हामीले दुःखी भएर यो भन्न बाध्य छौँ कि, वीमा बोर्डले समयमै भुक्तानी नदिने, भुक्तानी दिएपनि दावी रकममा ३० प्रतिशत कटौती गर्ने र बजार मुल्य अनुसारको मुल्य नपाउँदा सेवा बन्द गर्न बाध्य छौँ निर्देशक कारखले भन्नुभयो ।
वीमा बोर्डले दिने विभिन्न सेवावापतको भुक्तानी अत्यन्त कम हुँदा अस्पताल नियमित सञ्चालनमा समेत अप्ठेरो परेको प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयो । वीमा सेवा अन्तर्गतको सेवा हाललाई स्थगित भएपनि अस्पतालले विपन्न परिवारका लागि दिने निशुल्क सेवा, तथा अन्य बिरामीका लागि दिन सहुलियतपूर्ण सेवा कायमै रहने उहाँले बताउनुभयो ।
उहाँका अनुसार हाल वीमा बोर्डबाट १२ करोड बढी भुक्तानी हुन बाँकी छ । वीमा बोर्डबाट बजार मुल्य अनुसारको रकम नपाउँदा र भुक्तानी दावीमा समेत ३० प्रतिशत रकम कटौती हुँदा अस्पताल नै बन्द हुने अवस्था सिर्जना भएको भट्टराईले बताउनुभयो ।
वीमा अन्तर्गतको सेवा बन्द भएपछि पाल्पाका अधिकांश बिरामी वीमा सेवाबाट बञ्चित हुनुपर्ने बाध्यता सिर्जना भएको छ । पाल्पाका अधिकांश बासिन्दाले वीमा अन्तर्गतको स्वास्थ्य सेवा लिदै आएका छन् । त्यसमध्ये अधिकांश बिरामीले मिसन अस्पतालबाट यो सेवा लिँदै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० २०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय