Erani Mahal
पुष्पलालकाे याेगदान विषयक संवाद कार्यक्रम
IMG_5650
पाल्पा - ४५ औँ पुष्पलाल स्मृति दिवसकाे अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा 'पुष्पलालकाे याेगदान' विषयक संवाद कार्यक्रम भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिउँदो छँदा अपमान मात्र गर्ने तर मरेपछि प्रशंसा गर्ने प्रवृत्ति कायम रहेकाेमा त्यसलाइ सुधार गर्नुपर्नेमा जाेड दिनुभयाे । पुष्पलालले सधैँ त्याग गरेकै कारण आज लाेकप्रिय बनेको उहाँले बताउनुभयाे । कार्यवाहक नगर प्रमुख प्रतीक्षा सिंजालीले कार्यक्रममा आएका विचार र चिन्तनले छलफल अर्थपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । राजनीति र सामाजिक क्षेत्रमा देखिएको मानसिकतालाई चिर्न यस्ता छलफल र अन्तरक्रिया हुनुपर्ने उहाँकाे भनाइ छ । तानसेन नगरपालिकाका पूर्व नगर प्रमुख अशोककुमार शाहीले हामीले राजनीति गरिरहँदा राष्ट्रका धराेहरहरूलाई पार्टीको घेराभन्दा माथि राख्नुपर्ने धारणा राख्नुभयाे । पुष्पलाल अस्पतालमा बस्दासमेत साधारण बेडमा बसेर उपचार गराएको अवस्थालाई हेर्दा उहाँको साधा जीवनले सबैलाइ प्ररेणा मिल्ने बताउनुभयाे । राजनीतिज्ञ तथा बाैद्धिक व्यक्तित्व धनेन्द्रराज घिमिरेले पुष्पलालकाे जीवनी सन्दर्भ र मार्क्सवादी विचारधारालाई नेपाली समाजमा प्रयोग गर्ने नेताका रूपमा चिन्दछाैँ भन्नुभयाे । राजनीतिक व्यक्तित्व झपेन्द्र गहिरेले विचार, विमर्श र विश्लेषणकाे खाँचो रहेको र त्यसको मर्मलाई आजको जमघटले सार्थक बनाएको विचार व्यक्त गर्नुभयो । वीपी र पुष्पलाल नेपालको इतिहासका राजनीतिक धराेहर रहेको विचार उहाँले व्यक्त गर्नुभयो । राजनीतिक व्यक्तित्व राजेन्द्र वि.क. ले पुष्पलालका पृष्ठभूमिबाट अहिलेकाे समाजको विश्लेषण गर्नु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । पूर्व सांसद यादवबहादुर रायमाझीले पुष्पलाल बहुआयामिक व्यक्तित्व रहेको सन्दर्भ उल्लेख गरी नेताकाे अर्थ नै सस्तो बन्दै गएको यथार्थलाई झल्काई पुष्पलाल वास्तवमै नेता रहेको विचार व्यक्त गर्नुभयो । वीपी स्मृति प्रतिष्ठान नेपाल पाल्पाका अध्यक्ष डा. टंक पन्थद्वारा पुष्पलालकाे मार्गचित्रमा २०४६ र त्यसपछिका आन्दोलनहरू सफल भएको र सबै प्रकारका गठबन्धनहरू त्यही मर्मबाट निर्मित भएको धारणा राख्नुभयाे । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले पुष्पलालले गरेका कामकाे अवस्था र वर्तमानको यथार्थलाई केन्द्रित गर्नुपर्नेमा जाेड दिनुभयाे । प्रतिष्ठानका सचिव गणेश ज्ञवालीले पुष्पलालकाे राजनीतिक याेगदानमाथि अवधारणापत्र प्रस्तुत गर्नुभयो । पुष्पलालकाे जीवनी, सङ्घर्ष, विचार निर्माण तथा राजनीतिक उतारचढावका परिघटनालाई प्रस्तुत गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष गाेविन्द भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत गाेपालप्रसाद बस्याल र सञ्चालन सन्तोष खनालले गर्नुभएको थियोे ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update