Erani Mahal
पाल्पामा लम्पीस्किन नियन्त्रण गर्न खोप लगाइँदै
khop lampi skin (1) (1)
पाल्पा – पाल्पाका दुई हजार गाई, गोरु तथा भैसीलाई लम्पी स्किन रोग बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । लम्पीस्किन रोगको नियन्त्रणका लागि पशुहरूलाई खोप लगाउन सुरु गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । पाल्पामा लम्पी स्किन रोग बिरुद्धको दुई हजार खोप प्राप्त भएको छ । पाल्पामा हालसम्म तिनाउ गाउँपालिका–६, मस्यामस्थित विभिन्न पशु फर्मका एक सय गाईलाई खोप लगाइएको कार्यालय प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पाल्पाका पशुलाई लगाउन लम्पीस्किन बिरुद्धको खोप प्राप्त भएको छ, हालसम्म एक सय उन्नत जातका गाईलाई खोप लगाएका छौँ ।’ पाल्पामा गत फागुनदेखि नै लम्पीस्किन रोगको प्रकोप देखिएको थियो । यसबाट पाल्पाका छ हजार ४०१ पशु सङ्क्रमित भएका थिए । तीमध्ये २९७ वटा पशुहरूको मृत्यु भएको थियो । खोप प्राप्त भएपछि लम्पीस्किन सङ् क्रमण नियन्त्रण गर्न प्रभावकारी हुने अपेक्षा गरिएको छ । पाल्पामा सबैभन्दा बढी घरमा पालेका परम्परागत पशु्हरूमा लम्पी स्किनको सङ्क्रमण देखिएको पशु चिकित्सक नविन बस्यालले जानकारी दिनुभयो । अहिले पनि छ सय बढी पशुहरू सङ्क्रमित रहेको उहाँले बताउनुभयो । सङ्क्रमित भएका पशुलाई बाहेक अन्य पशुलाई खोप लगाइने उहाँले जानकारी दिनुभयो । दुई हजारसहित अन्य पशुका लागि थप खोपको समेत माग गरिएको विज्ञ केन्द्रले जनाएको छ । लम्पी स्किनका कारण पाल्पामा दुध उत्पादनमा समेत प्रभवित बनेको छ । दुध उत्पादनका लागि पालन गरेका पशुमा समेत लम्पीस्किन रोगले प्रभाव पारेकाले दुध उत्पादन घटेको तिनाउ–६, मस्यामस्थित डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक गोपाल जिसीले बताउनुभयो । हालसम्म पाँच सय बढी दुधालु गाई लम्पीस्किनबाट प्रभावित बनेको र ३०/४० वटा गाइ मरेको उहाँले बताउनुभयो । लम्पीस्किन रोग लागेपछि गाई, भैसी तथा गोरुलाई उच्च ज्वरो आउने, छालामा घाउ देखिने, दुब्लाउदै जाने, गिर्खा देखिने गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update