पाल्पा – पाल्पाको दुई वटा विद्यालयमा जुनियर एनसीसी तालिम सुरु भएको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालन हुने तालिममा पाल्पाको माथागढीस्थित दिव्य ज्योति माध्यमिक विद्यालय र तानसेनको दमकडा माध्यमिक विद्यालयका ७२ जना विद्यार्थीहरू सहभागी छन् ।
६ महिनासम्म सञ्चालन हुने तालिमले विद्यार्थीमा देशभक्ति, आत्मविस्वास, नेतृत्व विकास गर्नमा सहयोग पुग्ने तानसेनस्थित नेपाली सेनाको दि फेसम महिन्द्र दल गणका गणपति प्रमुख सेनानी बालमुकुन्द विष्टले जानकारी दिनुभयो ।
तालिममा सहभागी छात्रछात्रालाई प्रथम प्रवचन दिनुहुँदै प्रमुख सेनानी विष्टले अनुशासितपूर्वक तालिममा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । विद्यालयमा अध्ययन्रत क्याडरहरूको पढाईसँगै एससीसीको तालिम पूरा गर्दा केही अप्ठेरो भएपनि अन्तत त्यसले व्यक्ति, समाज र देशलाई असल बनाउने विस्वास गर्नुभयो ।
उहाँका अनुसार देशभरका ७ हजार ७०० बढी विद्यार्थी जुनियर एनसीसी तालिममा सहभागी हुनेछन् । त्यसमध्ये पाल्पामा यो वर्षका लागि दुई वटा विद्यालयका विद्यार्थीहरू एनसीसी तालिमका लागि छनौट भएका थिए । तालिमको प्रथम प्रवचन कार्यक्रममा दिव्य ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम राना, दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले शुभकामना दिनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० २१:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय