Erani Mahal
बुटवलकाे सिद्धबावा मन्दिरमा आर्थिक अनियमितता
palpad
पाल्पा - रूपदेही र पाल्पाकाे सिमानास्थित रूपन्देहीतर्फ बनेकाे सिद्धबाबाधाम दाताले चढाएकाे रकममा अनियमितता भएकाे पाइएकाे छ । दाताबाट संकलित रकममा अनियमितता भएकाे पाइएकाे हाे । मन्दिरमा आउने भक्तजनले चढाएका रकमकाे रसिदमा फरक फरक गरेर रकम हिनामिना गरेकाे पाइएकाे हाे । मन्दिर विकास समितिले दातालाइ दिने रसिदमा एउटा रकम उल्लेख छ भने विकास समितिकाे नाममा रहेका रसिदमा रकम फरक देखिएकाे छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरूले सेवा शुल्क वापत दिएको रकममा नै अनियमितता हुने गरेको देखिएको हो। तल्लो सिद्धबाबा धाम विकास समितिले विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यहरू गराएवापत सेवा शुल्क भन्दै निश्चित रकम लिने गर्छ। तर दाताहरूबाट संकलित सोही रकम समेत अनियमितता गरिएका किर्ते रसिदहरू सार्वजनिक भएका छन् । समितिले दाताहरूलाई दिएको पहिलो रसिद र त्यसैको छाँया प्रतिमा फरक फरक रकम लेखिएको भेटिएपछि धाम विकास समितिमा हुने गरेको अनियमितता छताछुल्ल भएको हो। सार्वजनिक भएका रसिदमा दाताबाट १ हजार ५ र १ हजार १ सय ५ रकम लिएको उल्लेख गरिएको छ भने तीनै रसिदका छाया प्रतिमा भने ५ सय ५ रुपैयाँ लेखिएको छ। २०७९ साल असार २२ गते सैनामैना ४ रुपन्देहीका कुमार कार्कीले बहिनीको विवाह गरेवापत धामविकास समितिलाई रसिद काटेर १ हजार १ सय ५ रुपैयाँ बुझाउनुभएकाे थियाे । १६८१३ नं. को उक्त रसिदमा रकम बुझाउने व्यक्तिको नाम, ठेगाना हस्ताक्षर समेत गरिएको छ। तर सोही नं. को रसिदको छाया प्रतिमा भने रकम बुझाउने व्यक्तिको नाम, ठेगाना र हस्ताक्षर एउटै रहेपनि रकम भने आधा भन्दा बढी कम गरी ५ सय ५ रुपैयाँ मात्रै लेखिएको छ। गत मंसिर २६ गते रुपन्देहीको हिरापुरकी तिला कुमारी खड्काले धाम विकास समितिलाई १ हजार ५ रुपैयाँ बुझाउनुभयाे । १७११४ नं. को पहिलो रसिदमा १ हजार ५ रुपैयाँ लेखिएपनि त्यसैको छाया प्रतिमा ५ सय ५ रुपैयाँ मात्रै लेखिएको छ। बुटवल-११ की गंगा रायमाझीले पनि गत मंसिर २८ गते रसिद काटेरै धाम विकास समितिलाई १ हजार १ सय ५ रुपैयाँ प्रदान गर्नुभएकाे थियाे । रायमाझीले बुझाएको १७११२ नं. को उक्त रसिदको छाया प्रतिमा भने ५ सय ५ रुपैयाँ उल्लेख गरिएको छ। समितिमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका कृष्णप्रसाद तिमिल्सेनाले आफूलाई फसाउन र बदनाम गर्न धेरै महिना अघिको घटनालाई चर्चामा ल्याइएको बताउनुभयाे । लामो समयदेखि तिमिल्सेना अध्यक्ष रहेको समितिमा आन्तरिक विवादका कारण नयाँ समिति चयन हुन सकेको छैन । गत मंसिरमै गरिएको समितिको अधिवेशनमा सहमति जुट्न नसकेपछि धाम विकास समिति नेतृत्वविहीन छ। अर्को नेतृत्व चयन नहुँदा सम्म तिमिल्सेनाले नै कामचलाउ अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएकाे छ । यस बीचमा नगदी रसिदहरू सार्वजनिक भएपछि आफूलाई फसाउन र बदनाम गराउन पुरानो घटना बाहिर ल्याइएको उहाँको भनाइ छ । तिमिल्सेनाका अनुसार दाताबाट रकम लिएर काटिएका रसिदमै किर्ते गरिएको पाइएपछि समितिले १ महिना अघि नै धाम विकास समितिका कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीलाई निलम्बन गरेको थियो ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update