पाल्पा – रोटरी क्लब अफ पाल्पाले यूनाइटेड मिसन अस्पताल पाल्पाको फोहोर पानी व्यवस्थापन गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ । क्लवले मिसन अस्पतालकाको फोहर पानी वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माणको काम थालिएको जनाएको छ ।
यूनाइटेड मिसन अस्पताल पाल्पा र भुसलडाँडा क्षेत्रका होटल, तथा रेष्टुरेन्टबाट निस्कने फोहोर पानीलाई पुनः प्रयोगमा आउनेगरी व्यवस्थापन गर्न रोटरी क्लब अफ पाल्पा तानसेनले वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागेको क्लबका अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिनुभयो ।
अध्यक्ष कार्कीले भन्नुभयो “रोटरी क्लब अफ पाल्पा तानसेन र रोटरी क्लब अफ इन्टरनेश्नलको समन्वयमा ३ करोड १८ लाखको लगानीमा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण हुन लागेको हो । यसका लागि तानसेन नगरपालिकाले पनि एक लाख सहयोग दिने भएको छ ।”
सस्थापक सचिव तथा पुर्व अध्यक्ष बुद्धिप्रसाद शर्माले रोटरी क्लब अफ पाल्पा तानसेनले धेरै मानवीय र सामाजिक सेवा गर्दैआएको बताउनुभयो । शर्माले क्लबले गोपाल्दी खानेपानी योजना लगायत ३ वटा पूर्वमा सिंचाइँका कामहरु गरेको जानकारी दिनुभयो ।
शर्माका अनुसार बर्षामा बग्ने पानी, घर होटल रेष्टुरेन्टबाट बग्ने पानीले भुसलडाँडा तल्लो भेगका स्थानीयलाई खेपिरहेको हैरानी हट्नेछ । रोटरी क्लब अफ पाल्पा तानसेनले यूनाइटेड मिसन अस्पतालमा दश लाख लिटरको आकाशेपानी संकलन गर्ने ट्याङकी, हाड तथा जोर्नी विभागमा एकसय जनालाई अप्रेसन गर्न मिल्ने मेसिन, अक्सीजन प्लान्टको सहयोग गरिसकेको छ ।
क्लबले विभिन्न विद्यालयका ३४ सय विद्यार्थीलाई स्वास्थ्य परीक्षण गरी समस्यामा परेका असायलाई निःशुल्क उपचार गर्दैआएको छ । पुर्व अध्यक्ष हरि रायमाझीका अनुसार २००१ मा छत्रराज शाक्यको नेतृत्वमा २७ संस्थापक सदस्यसहित स्थापना भएको क्लबमा अहिले ३८ जना सदस्य छन् ।
क्लवले मानवीय भावका साथमा विभिन्न कार्यक्रमहरु, शौचालय प्रोजेक्ट, अनाथ बालबालिकालाई सहयोग लगायतका सेवामूलक कार्य गर्दै आएको क्लवका पूर्व अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय