Erani Mahal
पाल्पाको बाँसटारीमा मोटरसाइकल ट्रायल परीक्षा सुरु !
Tra
पाल्पा — पाल्पाको बाँसटारीमा यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु गरेको छ । तराईमा मात्र हुँदै आएको ट्रायल लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक सुरु भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले ट्रायल परीक्षाको शुभारम्भ गर्नुभयो । ट्रायल सेन्टरको सुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहनुभएका रानाले लुम्बिनी प्रदेश सरकारले पाल्पामा समेत यातायात व्यवस्था कार्यालय राखेर सेवा दिएकोमा धन्यवाद दिर्दै त्यसको लागि आफ्नो महत्वपूर्ण पहल रहेको समेत बताउनुभयो । ट्रायल सेन्टरमा आगामी दिनमा जनताले सहज ढंगले सेवा पाउनुपर्ने जिल्ला समन्वय समितिकी उप प्रमुख काशिका गैरेले बताउनुभयो । तानसेनमा ट्रायल सेन्टर खुल्नु पाल्पा र तानसेनबासीको लागि गर्वको कुरा भएको मेयर सन्तोषलाल श्रेष्ठले बताउनुभयो । एक साता अघि लिखित परीक्षा लिएर शुक्रबार दुई पांग्रे सवारी साधन स्कुटर र मोटरसाइकलको ट्रायल गराइएको हो । लिखित परीक्षमा उत्तीर्ण १९० जनाको ट्रायल लिइएको यातायात सेवा व्यवस्था कार्यालयका प्रमुख केशव सुनारले बताउनुभयो । सिद्धार्थ राजमार्गको बाँसटारीदेखि एक किलोमिटर नजिकमा सुरु ट्रायल सेन्टरका लागि अघिल्लो वर्ष एक करोड बजेट विनियोजन भएको थियो । ट्रायल सेन्टर नजिक सेवा कार्यालयका भवनका लागि जग्गा व्यवस्थापन भएको र आगामी आर्थिक वर्षमा निर्माण सुरु हुने वडाध्यक्ष प्रदीप खनालले बताउनुभयो । यस वर्ष एक करोड बजेट विनियोजन भएको छ । तानसेन नगरपालिका–७, बाँसटारी ठाँटीमा ट्रायल सुरु भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा सम्मका नागरिकले सेवा पाउने छन् । कार्यक्रममा राजनीतिक पार्टीका प्रतिनिधि, जनप्रतिनिधि, सर्वसाधारण, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update