तानसेन – पाल्पामा लामखुट्टेबाट सर्ने डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो एक महिनायता डेङ्गु सङ्क्रमित बिरामी बढ्न थालेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो एक महिनाको अबधिमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो छ महिनामा ३३ जनामा डेङ्गु सङ्क्रमण भएकोमा असारमा मात्र आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । सरकारी अस्पताल र जिल्लाका दुई ठूला अस्पतालबाट आएको रेकर्डमा ३३ जना सङ्क्रमित देखिन्छन् तर बाहिरी मेडिकल हलमा देखिएका बिरामीको तथ्याङ्क आएको छैन । पछिल्लो केही दिनयता डेङ्गुका बिरामी यहाँका अस्पतालहरूमा भर्ना भएर उपचार गर्ने क्रम बढेको भट्टराईले बताउनुभयो ।
गत वर्ष झण्डै तीन सय जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष असार लागेपछि डेङ्गुका सङ्क्रमित बिरामी बढ्न थालेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । डेङ्गुको सङ्क्रमण बढ्ने बेला भएकाले सबै सचेत र प्रकोपबाट जोखिन आवश्यक तयारीका साथ रहनुपर्ने उहाँले बताउनुभयो ।
केही वर्षअघिसम्म रुपन्देही वा अन्य तराइँका जिल्लामा सम्पर्क भएको व्यक्तिमा मात्र डेङ्गु देखिन्थ्यो तर तीन वर्षयता पाल्पामा डेङ्गुका बिरामी बढी नै देखिन थालेको स्वास्थ्य कार्यालयका कर्मचारीको भनाई छ । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेङगु सङ्क्रमणको प्रकोप बढेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले बताउनुभयो ।
जलवायु परिवर्तनका कारण डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे तराईबाट पहाडतर्फ लागेको अधिकारीकाे भनाई छ । गर्मी बढेका कारण र तराइसँग नजिकैको जिल्ला भएका कारण पाल्पामा पनि डेङ्गुका बिरामी फेला पर्ने क्रम बढेको उहाँले बताउनुभयो । गत वर्ष रिव्दीकोटका एक जना पुरुषको डेङ्गु सङ्क्रमणका कारण ज्यान गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय