Erani Mahal
छहरामा द्रुत उद्दार गर्न ‘नाइट ल्याण्डिङ् हेलिप्याड’
helopad palpa sena
पाल्पा - विपद्मा दुर्गम क्षेत्रका नागरिकलाई तत्कालै उद्दार गर्न सकिने गरी जिल्लाको रैनादेवी छहरामा ‘नाइट ल्याण्डिङ् हेलिप्याड’ निर्माण गरिएको छ । दुर्गम बस्तीका नागरिकहरूलाई जुनसुकै बेला उद्दार गर्न सकिने गरी रैनादेवी छहराको तिलकथानमा ‘नाइट ल्याण्डिङ् हेलिप्याड’ बनाइएको हो । गत २०७९ पुसदेखि निर्माण भएको हेलिप्याड चार महिनामा तयार भएको नेपाली सेनाले जनाएको छ । तयार भएको नाइट ल्याण्डिङ् हेलिप्याड रैनादेवी छहरा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालले रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै पृतनापति ढकालले विपद्का बेला उद्दार तथा राहतको कार्यलाई सहज बनाउन हेलिप्याडले सहयोग पु¥याउने बताउनुभयो । नेपाली सेनाले नेपाली नागरिकसँगको ऐतिहासिक सम्बन्ध जीवन्त बनाउन निरन्तर यस्ता गतिविधिलाई जोड दिएको ढकालले बताउनुभयो । जबसम्म नेपाली सेना रहन्छ तबसम्म नेपाली जनता र राष्ट्र रहने भन्दै उहाँले सेना र नागरिकको सम्बन्ध एकअर्काको परिपूरक भएको बताउनुभयो । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले सदरकुमार तानसेनदेखि ४३ किलोमिटर पश्चिममा हेलप्याड बन्नु सह्रानीय भएको बताउनुभयो । अब हेलिप्याडको संरक्षण र रेखदेखमा पालिकाले ध्यान दिने र अन्य स्थानमा पनि यस्ता संरचना बनाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । नेपाली सेना पाल्पास्थित दि महिन्द्र फेमस दल गणका गणपति बालमुकुन्द विष्टले हेलिप्याड निर्माणपछि जुनसुकै बेला उद्दारको कार्य गर्न सहज हुने बताउनुभयो । रातको समयमा पनि विपद् वा अन्य कुनै कारणले तत्कालै हेलिकप्टरबाट सेवा लिन हेलिप्याड बनाइएको उहाँले बताउनुभयो । हेलिप्याड बनाउन सहयोग गर्ने गाउँपालिका, वन समूह, राजनैतिक दल, तथा अन्य सङ्घसंस्थालाई उहाँले धन्यवाद दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update