Erani Mahal
पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला बन्यो
khop palpa
पाल्पा - पाल्पालाई पूर्ण खोप दीगोपना सुनिश्चिता जिल्ला घोषणा गरिएको छ । पाल्पाका दुई नगरपालिकासहित आठ वटा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनाभित्रका तीन हजार ६६३ जना बालबालिकालाई लाइन लिस्टिङ् गरिएकोमा सो उमेर समूहका कुनैपनि बालबालिका शुन्य डोज र ड्रप आउट नभेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो वर्ष तीन हजार २३१ जना बालबालिकाहरूले पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । खोप सर्वेक्षणबाट दुई जना शुन्य खोप र नौँ जना बालबालिका ड्रप आउट देखिएकाले उनीहरूलाई समेत पूर्ण खोपमा सहभागी बनाइएको डा. गिरीले बताउनुभयो । बिहीबार पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा गर्नुहुँदै प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले राज्यले सबै नागरिकको स्वास्थ्यको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । खोप मात्रै होइन अन्य जटिल रोगको उपचारको व्यवस्थामा समेत राज्यले लगानी गरिरहेको जानकारी उहाँले दिनुभयो । प्रदेशसभा सदस्य वीरबहादुर रानाले अहिले हरेक मानिसले खल्तीमा औषधिको ट्याबलेट बोकेर हिड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै अर्का प्रदेशसभा सदस्य खेमबहादुर सारुले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने जिकिर गर्नुभयो । लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले पूर्ण खोप सुनिश्चितताका निरन्तर रहनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा पनि सबै बालबालिकाले पाउनुपर्ने खोप पाएर खोपको सुनिश्चितता गर्न सबै मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा खविभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो । ्कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीको स्वागत र सूचना अधिकारी टिकाराम अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update