पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाको १३ औं अधिवेशनको (बैठक नं. २) बुधवार सम्पन्न भएको छ ।
बैठकमा माथागढी गाउँपालिकाको साझेदारीमा काम गर्न बनेको विधेयक र माथागढी गाउँपालिकाको सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक सँगै आर्थिक विधेयक तथा विनियोजन विधेयक समेत गरी चारवटा विधेक पारित भएको छ ।
विनियोजन विधेयक गाउँसभा सदस्य शंकर दर्लामीले, गाउँपालिकाको साझेदारीमा काम गर्न बनेको विधेयक गाउँसभा सदस्य तेज बहादुर घर्ती र माथागढी गाउँपालिकाको सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक गाउँसभा सदस्य राजकुमार पन्थीले पेश गर्नुभयो ।
सभा गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले पालिकाको समग्र विकास गर्ने गरेर बजेट प्रस्तु्त गरिएको र त्यसको कार्यान्वयन सबैपक्षमा सहयोगमा मात्रै सफल हुने बताउनुभयो । उहाँले गाउँपालिकाले सबै भूगोल, क्षेत्र, अवस्था आदिलाई ख्याल गर्दै आर्थिक र सामाजिक रुपान्तरणको सोंच सहित बजेट ल्याएको बताउनुभयो । उहाँले गाउँपालिकाको नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी प्रस्तुत गरिएको बजेट कार्यान्वयनसँगै गाउँपालिकाप्रति जनताको विश्वास बढ्ने बताउनुभयो ।
उपाध्यक्ष विष्णुमाया लुंचेले बजेट पेश गर्दे पालिकाले पूर्वाधार, भौतिकसँगै आर्थिक विकासका कार्यक्रमहरु ल्याएकोले त्यसको कार्यान्वयनले गाउँमा आर्थिक उर्पाजन र जीविकोपार्जनमा समेत टेवा पुग्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले पालिकाले गत वर्षको तुलनामा यस वर्ष बजेट कार्यान्वयको दर बढेको बताउँदै आगामि वर्षको बजेट कार्यान्वयमा समेत सबैले सहयोग गरेमा प्रगतिदर बढ्ने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय