Erani Mahal
ललिता निवास छानविनमा पार्टी र आफ्नाे पूर्ण सहयाेग हुन्छ : अध्यक्ष नेपाल
madhab nepal1 (1)
पाल्पा - पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले मङ्गलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । ललिता निवासको जग्गा छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्न आफू र आफ्नो दल तयार रहेको उहाँले उल्लेख गर्नुभयाे । वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र कारबाही गर्ने कार्य गरेकोमा प्रशंसा गर्नुहुँदै उहाँले भ्रष्टाचारमा दोषी देखिएका उम्कन नहुने बताउनुभयो । “भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन उहाँले भन्नुभयो, “म र हाम्रो पार्टी भ्रष्टाचारबिरोधी अभियानमा साथ दिन तयार छौँ, यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।” भ्रष्टारचारमा इफ वा बट भन्ने हुँदैन । ललिता निवासका बारेमा आफू प्रधानमन्त्री हुँदा सरकारी जग्गा हो वा होइन भनेर कानुनसम्मत रूपमा छुट्याएर अगाडि बढ्न निर्णय गरेको उहाँले दाबी गर्नुभयो । त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार आफू नहुने उहाँले प्रष्ट पार्नुभयो । कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि नियत र त्यसबाट फाइदा लिने गिरोहका मानिसलाई हेरेर निर्णय गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ । उहाँले नेपाल ट्रष्टका जग्गादेखि सरकारी जग्गाको समेत छानबिन गरेर भ्रष्टाचारीलाई सरकारले कारबाही गर्छ भन्ने आशा जनतामा सञ्चार गर्नुपर्ने बताउनुभयो । काङ्ग्रेस, माओवादी, समाजवादी र अन्य दलहरू मिलेर सरकारको स्थायित्वका बारेमा छलफल गरेर अघि बढ्ने उहाँको भनाइ छ । सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा बनेको उहाँले चर्चा गर्नुभयो । समाजवादी माेर्चा बनाउदा काेही तर्सन नपर्ने उहाँकाे भनाइ छ । माेर्चा निर्माणमा कांग्रेसको समेत समर्थन रहेकाे उहाँकाे जिकिर छ । सरकारले विकासका काम गर्दा याेजना बनाएर मात्र अघि बढ्नुपर्ने बताउनुभयाे । याेजनाबिना अघि बढ्दा विकास निर्माणमा छरपस्ट देखिएकाे अध्यक्ष नेपालकाे भनाइ छ । प्रधानमन्त्री अहिले प्रचण्ड हुनुहुन्छ उहाँकाे नेतृत्वमा राम्राेसँग सरकार चल्ने बताउँदै उहाँले प्रममा आफ्नाे दावी नरहेकाे उल्लेख गर्नुभयाे । कार्यक्रम नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्माकाे स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सनाकाे संचालनमा भएकाे थियाे । अध्यक्ष नेपाल पार्टीका जिल्ला अध्यक्ष कमल पाण्डेय दिवंगत हुनुभएकाेमा शाेक व्यक्त गर्न पाल्पा आउनुभएकाे समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरेले जानकारी दिनुभयाे । उहाँले मंगलबार पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, सुरक्षा निकायका प्रमुख तथा राजनैतिक दलका नेताहरूसँग भेटघाट गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update