पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाको ग्रामीण वडाको समुदाय स्तरमै गएर सामाजिक भत्ता वितरण गरिएको छ । माथागढी गाउँपालिका पञ्जिकरणसेवा ईकाईको आयोजना तथा नेपाल ईन्भेष्मेन्ट मेघा बैकको समन्वयमा माथागढीको ५ वटा वडामा समुदायस्तरमा गइ चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता अन्तर्गतको विनियोजित चौथो त्रैमासिकको २ करोड ९९ लाख १८ हजार ३ सय २० मध्ये मेघा बैंकबाट १ करोड ५२ लाख ५७ हजार तीन सय उनानव्वे रुपैया वितरण गरिएको हो ।
गाउँपालिकाले ग्रामीण क्षेत्रका स्थानीयको असुविधालाई मध्ये नजर गरेर मेघा बैंकसँग सहकार्य गरेर टोलटोलमै वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले रानीमहललाई बताउनुभयो । उहाँले सामाजिक सुरक्षा पाउने लाभग्राहीलाई वर्षातको समयमा समस्या नहोस भनेर वर्षातमा समेत घरदैलोमै पुगेर भत्ता वितरण गरिएको रानीमहललाई बताउनुभयो । गाउँपालिकाले सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरणको लागि आगामी नीति तथा कार्यक्रममै समावेश गरेर कार्याक्रम बनाएको बताउनुभयो ।
यस्तै ग्लोवल आइएमई बैंकसँग समेत समन्वय गरेर वडा नं. १ देखि ३ सम्मको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत घरदैलोमै वितरण गर्ने गरी काम गर्ने सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १ वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । गाउँपालिका पञ्जिकरण शाखाका अनुसार पालिका भित्र जेष्ठ नागरिक १ हजार ६ सय ६४, जेष्ठ नागरिक दलित १२९, जेष्ठ नागरिक एकल महिला २ सय ८४, विधुवा महिला ४४१, अपांग क वर्गको ६४, अपांग ख वर्ग १ सय ७०, दलित बालबालिका २ सय २७ जना जना गरी जम्मा ३ हजार ७९ जनालाई वितरण गरिएको शाखाका कर्मचारी पशुपति पन्थीले रानीमहललाई बताउनुभयो ।
यातायात पहुँच कम भएका वडाहरु वडा नं. ४, ५, ६, ७ र ८ वडाका टोलबस्तीमै पुगेर वितरण गरिएको पन्थीले बताउनुभयो । कार्यक्रम बिगत २ बर्ष देखि सन्चालन हुँदै आएको कार्यक्रममा झडेवाको मेघा बैंकसँगको समन्यवमा देवगीर र सातमुलेमा वितरण गरिएको वडा अध्यक्ष शंकर दर्लामीले बताउनुभयो ।
शिबिरले गर्दा वृद्ध, अपाङ्ग तथा अन्य लाभग्राहीहरुले यस्तो खालको शिबिरले गर्दा गाडी भाडा तिरेर बैक सम्म आउन नपर्ने तथा समयको पनि बचत भएकोमा लाभग्राही मानबहादुर सारुले खुसी व्यक्त गरेका छन् । स्थानीय सरकारले आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सारुले बताउनुभयो ।
एक वर्षमा करिब १२ करोड बरावरको रकम माथागढी गाउँपालिका मार्फत वितरण हुने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयाे । उहाँले केही वडामा टाेलबस्तीमै र केहीमा बैक मार्फत सामाजिक सुरक्षाा भत्ताहरु वितरण गर्ने गरिएको बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० ०७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय